भुकम्प गएको चार बर्ष पुरा: रामेछापमा ६० प्रतिशत मात्र घर बन्यो

  • प्रकाशित मिति: बिहिबार, बैशाख १२ २०७६
  • तामाकोशी

रामेछाप, बैशाख १२ गते ।
विनाशकारी भुकम्प गएको चार वर्ष वितिसक्दा पनि अतिप्रभावित जिल्ला रामेछापमा भुकम्प पछिको आवास पुनर्निमाणको गति सुस्त देखिएको छ । भुकम्पले क्षति भई पुननिर्माणका लागि सम्झौता गरेका मध्ये अहिले सम्म ६०.८५ प्रतिशत मात्र घर निर्माण भएका छन् ।
भूकम्पबाट घर भत्किएका कूल लाभग्राही ४८ हजार ७ सय ७९ रहेका मध्ये अहिलेसम्म ४६ हजार ६ सय ७८ लाभग्राहीले पुननिर्माणको लागि सम्झौता गरेको जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार कार्यालय प्रमुख कृष्णलाल पियाले जानकारी दिए । उनका अनुसार लाभग्राहीको सुचीमा परेको २ हजार परिवार सम्झौताको लागि नआएको जनाएको छ ।
यता भूकम्प गएको चार बर्ष वित्दा जिल्लाको विद्यालय निर्माणको कार्यले भने गति लिएको छ । जिल्लाका अधिकांस सरकारी विद्यालयहरु निर्माणाधिन अवस्थामा छन् भने बाँकी रहेका विद्यालयहरु पनि निर्माणको प्रक्रियामा रहेका छन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका प्रमुख हेमन्त कुमार बुढाथोकीका अनुसार जिल्लामा भूकम्पले क्षती गरेका विद्यालयहरु अहिले धमाधम निर्माणको चरणमा रहेको जानकारी दिए । कतिपय विद्यालयहरु भने यसै शैक्षिकसत्रबाट हस्तान्तरण समेत हुदैछ । रामेछापका ४ सय १९ विद्यालय रहेकोमा सवै विद्यालयहरु नयाँ बन्ने प्रमुख बुढाथोकीको भनाई छ । अहिले सम्म जिल्लामा एक सय दश वटा विद्यालयहरु निर्माण भईसकेका छन् । निर्माण व्यवसायीहरु मार्फत १८ वटा र विद्यालय व्यवस्थापन समिति मार्फत ९२ वटा विद्यालय निर्माण सम्पन्न भएका छन् । त्यस्तै गैरसरकारी संस्थाबाट ७३ वटा र जिल्ला शिक्षा समन्वय इकाईबाट १ सय २ वटा विद्यालय मर्मत सम्भार भएको प्रमुख बुढाथोकीले जानकारी दिए ।
भुकम्प पिडितले सरकारलाई अनुदान पैसा फिर्ता गरे
भुकम्प गएको चार बर्षको अवधिमा पनि भुकम्पले भत्काएको घर निर्माण गर्न नसक्ने भन्दै रामेछापका १३ जना भुकम्प पीडितले सरकारले प्रदान गरेको पचास हजार रुपैयाँ फिर्ता गरेका छन् । चार बर्षको अवधिमा पनि घर निर्माण गर्न नसकेपछि तीन लाख रुपैयाँले घर निर्माण गर्न नसकेको भन्दै पचास हजार सरकारलाई नै फिर्ता गरिदिएका हुन् ।
लामो समयसम्म पनि घर निर्माण नगर्ने लाभग्राहीसँग पैसा फिर्ता लिने चेतावनी सरकारले दिएपछि रामेछामा पनि केहीले पैसा फिर्ता गरेका हुन् ।
जिल्ला आयोजना कार्यान्वय इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार रामेछापका इन्जिनियर सुरेन्द्र यादवले दुई बर्षको अवधिमा १३ जना लाभग्राहीहरुले पचास हजार रुपैयाँ फिर्ता गरेको बताए । उनले भने,‘घर निर्माण गर्न कसेपछि पैसा फिर्ता गरेको लाभग्राहीले बताएका छन् ।’ यादवका अनुसार १३ जनाले पहिलो किस्ता लिएको पचास हजारको दरले ६ लाख पचास हजार फिर्ता गरेका हुन् ।