चार वर्षमा रामेछापमा २८ हजार घर बन्यो,पाँच हजार लाभग्राही सम्पर्क विहिन

  • प्रकाशित मिति: बिहिबार, बैशाख १२ २०७६
  • तामाकोशी

रामेछाप । वैशाख १२ गते,
महाविनाशकारी भूकम्प गएको चार बर्ष पुरा हँुदा रामेछाप जिल्लामा २८ हजार घर बनेका छन् । पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यक्रम कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारका एमआईएस सुरेन्द्र यादवकाअनुसार जिल्लामा ४६ हजार ६ सय ७८ लाभग्राहीले घर पुननिर्माणका लागि सम्झौता गरेका थिए । जसमध्ये ४३ परिवारले मात्र पहिलो किस्ताको ५० हजार बुझेका छैनन् । हालसम्म २८ हजार ४ सय ८ लाभग्राहीहरुले घर निर्माणको सम्पूर्ण काम सकेका छन् । अन्तिम किस्ता लिइसकेका ४ हजार ३६२ परिवारको पनि घर निर्माण अन्तिम चरणमा पुगिसकेको छ । ८ हजार बढीले तोस्रो किस्ता लिन बाँकी छ । उनीहरु मध्ये कतिपय लाभग्राहीहरुले जग उठाएर महिनौंदेखि निर्माण कार्य अगाडि बढाएका छैनन् । घर निर्माणको सम्झौता गरेर पहिलो किस्ता लिएका मध्ये ५ हजार ५ सय लाभग्राही सम्पर्कमा आएका छैनन् । उनीहरुले घर निर्माणको काम नै सुरु गरेका छैनन् । यस्तै भवन निर्माणका लागि सझौता गरेर पहिलो किस्ता ५० हजार रुपैयाँ लिने १३ जना लाभग्राहीले भने घर निर्माण नगर्ने भन्दै रकम फिर्ता गरेका छन् ।