कर्मचारी नहुँदा कामै गर्न नसकिने अवस्था आएको गाउँपालिका अध्यक्षको गुनासो

  • प्रकाशित मिति: मंगलबार, चैत्र २६ २०७५
  • तामाकोशी

रामेछाप, चैत २६ गते ।

रामेछापको उमाकुण्ड गाउँपालिकामा कर्मचारी नहुँदा गाउँपालिकाले कामै गर्न नसक्ने अवस्था आएको गाउँपालिका अध्यक्षले गुनासो गरेका छन् ।
गाउँपालिकामा नागरिक समाज पारस्पारिक जवाफदेहीता परियोजनाले आयोजना गरेको सुशासनका औजारहरुको अभिमुखिकरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले सो गुनासो गरेका हुन् ।
केन्द्र सरकारले गाउँपालिकामा कर्मचारीहरु नपठाइदिँदा पालिकाको दैनिक कार्य सम्पादनदेखि विकास निर्माणका कार्यक्रमहरुहर समेत प्रभावित भएको अध्यक्ष सुनुवारले गुनासो गरे ।
आर्थिक वर्षको काम गर्नु पर्ने मध्य सिजनमा कर्मचारी नहुँदा नागरिकलाई प्रवाह गर्ने सेवामा समेत समस्या भएको उनले बताए ।



यस विषयमा प्रदेश र केन्द्र सरकारको वारम्बार ध्यानाकर्षण गराउँदा पनि कर्मचारीको व्यवस्थापन नगरिदिएको उनले गुनासो गरे ।
युएसएडको आर्थिक सहयोग, एफएचआई ३६० तथा गैरसरकारी संस्था महासंघ रामेछाप र हुराडेक नेपाल दोलखाको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष उर्मीला कार्कीले गाउँपालिकाले अब सामाजिक संस्थासंग मिलेर काम गर्ने बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत इश्वरिप्रसाद सुवेदीले गाउँपालिको शिक्षा र महिला तथा बालबालिका शाखा बाहेक अन्य शाखामा कुनै पनि कार्मचारी नभएको बताए । उनले कृषि, पशुसेवा, स्वास्थ्य लगायतका शाखाका कर्मचारी नै नभएपछि काम गर्न समस्या भएको बताए ।
त्यतिमात्र हैन गाउँपालिकामा लेखालाप समेत नहुँदा आर्थिक कारोवारमा समेत अप्ठेरो परेको उनले बताए । गाउँपालिकामा कागजमा पटकपटक लेखापालहरु आए पनि भौतिकरुपमा भने एक पटक पनि लेखापाल नआएको उनले बताए । गाउँपालिकाको लेखाको काम सदरमुरकाम मन्थलीमा रहेका एक जना लेखापालले आमसिक समय मात्र गरेकोले योजनाहरुको फरफारा गर्न समेत समस्या रहेको उनले बताए ।
कार्यक्रममा हुराडेक नेपाल दोलखाका जिल्ला कार्यक्रम संयोजक नवराज पथिकले नेपालमा प्रचलनमा रहेका सुशासनका औजारहरुको बारेमा जानकारी दिँदै स्थानीय सरकारले पनि त्यसलाई प्रयोग गरी सुशासन प्रवर्धन गर्नु पर्नेमा जोड दिए ।
गैसस महासंघ रामेछापका अध्यक्ष भूवनकुमार श्रेष्ठले स्थानीय सरकारले जनशक्ति नभएको कारण काम गर्न नसकि रहेको अवस्थामा गैसस महासंघ सरकारलाई त्यस्तो जनशक्ति उपलब्ध गराउन तयार रहेको बताए ।
कार्यक्रमममा गैसस महासंघका उपाध्यक्ष रत्नप्रसाद कँडेल, नेपाल पत्रकार महासंघ रामेछापका उपाध्यक्ष कैलाश खत्री, सामुदायीक वन महासंघ रामेछापका सचिव गंगा कार्की लगायतले बोलेका थिए ।
सोही कार्यक्रमबाट चन्द्र खातीको अध्यक्षतामा गैसस महासंघको गाउँपालिका स्तरीय समन्वय समिति समेत गठन गरिएको छ ।