रामेछाप । चैत २५ गते,
रामेछाप सदरमुकाम मन्थलीमा सामुदायिक मेलमिलाप सम्बन्धी स्थानीय सरकार र सरोकारवाला संगको नितिनिर्माण परामर्श बैठक सोमबार सम्पन्न भएको छ । द यशिया फाउण्डेशनको सहयोगमा तामाकोसी सेवा समिति मन्थलीले आयोजना गरेको परामर्श बैठक मन्थली नगरपालिकाकी उपप्रमुख एवं नगर स्तरीय न्यायिक समितिकी संयोजक माया कुमारी कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत ,रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष कुमार भट्राई,मन्थली नगरपालिका न्यायिक समिति सदस्य नारायण बोगटी र उद्धव रम्तेल लगाएत मन्थली नगरपालिका भित्रका विभिन्न वडामा रहेको सामुदायिक मेलमिलाप केन्द्रका संयोजकहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा स्थानीय सरकारले निर्माण गर्ने मेलमिला केन्द्र संचालन कार्यविधि र मेलमिलाप कर्ताको मापडण्डका बारेमा एकरुपता ल्याउनुपर्ने बिषयमा छलफल भएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख रमेश कुमार बस्नेतले मेलमिलाप केन्द्रहरुलाई प्रभावकारी ढंगले संचालन गर्न मन्थली नगरपालिकाले सहयोग गर्ने बताए । उनले मेलमिला केन्द्र संचालन कार्यविधि र मेलमिलाप कर्ताको मापडण्डका बारेमा गाउँपालिका तथा नगरपालिकाहरुले एकरुपता ल्याउन आवश्यकता रहेको भन्दै यसकालागि छलफल परामर्श गरिने बताए ।
कार्यक्रममा विभिन्न वडामा संचालनमा रहेका मेलमिलाप केन्द्रहरुका संयोजकहरुले गाउँमा रहेका सामुदायिक मेलमिलाप केन्द्रहरुमा नागरिकको पुर्ण विश्वास नहँुदा विवाद मिलाउँन समस्या भएको बताएका छन् । अहिले तामाकोसी सेवा समितिले जिल्लाको ८ वटै स्थानीय तहको ६४ वटै वडाहरुमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गरेर विवादको साटो मेलमिलापको बाटोको नारा लिएर काम गरिरहेको छ । तामाकोसी सेवा समितिले संचालन गरिरहेको समुदायिक मेलमिलाप केन्द्रहरुमा चालु आर्थिक बर्षको हालसम्म ४ सय भन्दा बढि विवादहरु आएको र अधिकांस विवादमा मिलापत्र गरिएको तामाकोसी सेवा समिति मन्थलीका कार्यक्रम संयोजक हिमाल ढुंगेलले बताए ।
मेलमिलाप सम्बन्धी स्थानीय सरकार र सरोकारवाला संगको नितिनिर्माण बारे परामर्श
- प्रकाशित मिति: सोमबार, चैत्र २५ २०७५
- तामाकोशी