बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि कुटपिट भएको छ । रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका बिषयमा छलफल गरेर फर्किदै गर्दा बलबहादुर भण्डारी लगायत ५÷६ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताए ।
उनले भने ‘म सडकको बिषयमा छलफल गरेर वडा नम्बर ४ का अध्यक्षसंगै फर्किरहेको थिए । एक्कासी म माथि हातपात भयो, मुखमा पट्टी बाधेर आएका ३,४ जनाले लट्ठिले पिट्न थाले । करीब दिउँसो साढे चार बजेतिरको समयमा म माथि आक्रमण भएको हो ।’
अध्यक्षसंगै रहेको ४ न. वडाका अध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्कने क्रममा बीच जंगलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको हो ।
उनले भने ‘चारपाँच जनाको समूह आएर उहाँमाथि लट्ठीले आक्रमण गर्यो । हामीले तपाई भाग्नुस भन्यौं त्यसपछि उनीहरुले ढुंगा फ्याकेर आक्रमण गरे । भाग्यबस अध्यक्षज्यूलाई ढुंगा नलाग्दा अप्रिय घटना हुन पाएन् ।’ घटनाका बिषयमा अनुसन्धान भईरहेको र हातपात गर्ने समूहको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
घटना के कति कारणले भयो भन्ने बिषयमा बुझ्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए । उनले भने, ‘प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । सडकको बिषयमा पनि विवाद थियो भन्ने खालको कुरा सुनिएको छ । के भएको रहेछ हामी बुझ्ने प्रक्रियामा छौं ।’
गाउँपालिका अध्यक्ष चन्दले भने सडकका बिषयमा कुनै विवाद नरहेको दाबी गरे ।