माथिल्लो तामाकोसीमा नगद प्रवाहको समस्या

  • प्रकाशित मिति: मंगलबार, चैत्र १२ २०७५
  • तामाकोशी

काठमाडौं । चैत १२ गते,
स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई नगद प्रवाहको समस्या देखिएको छ । यो राष्ट्रिय गौरवको आयोजना हो । गोरखा भूकम्प’ले गर्दा झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग नयाँ बनाउनुपरेको, केही संरचनाको डिजाइन हेरफेर भएको र निर्माण अवधि बढ्दा ठेक्कामा मूल्य समायोजन भएको तथा विदेशी विनिमय दरमा भएको वृद्धिले आयोजनाको समग्र लागत वृद्धि हुँदा नगद प्रवाहमा समस्या आएको हो । नगद प्रवाहमा समस्या आएको भन्दै आयोजनाका तर्फबाट प्रवर्द्धक माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी लिमिटेडका तर्फबाट जानकारी गराइएको थियो । गत शुक्रबार र शनिबार आयोजनाको स्थलगत निरीक्षणमा पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओली र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नगद प्रवाहमा समस्या आएको जानकारी गराएको थियो ।
मन्त्री पुनले आयोजनालाई नगद प्रवाहमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन् । पछिल्लो संशोधित लागतमा रु सात अर्ब ७० करोड रकम अपुग भएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले नगद प्रवाहको समस्या तत्कालका लागि समाधान गर्न अल्पकालीन ऋणको व्यवस्था गरिएको जानकारी दिएका थिए । आयोजनाको सुरुमा अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक रु ३५ अर्ब २९ करोड ४१ लाख र ब्याजसहित रु ४८ अर्ब ८६ करोड थियो । त्यतिबेला एक अमेरिकी डलरको सटहीदर रु ८० थियो । एक अमेरिकी डलरको औसत सटहीदर ९७.६ रुपैयाँ कायम गरी आयोजनाको लागत निर्माण अवधिको ब्याजबाहेक रु ४९ अर्ब २९ करोड ५५ लाख पुग्ने संशोधित अनुमान गरिएको छ । यसमा नेपाली मुद्राको अवमूल्यन र मूल्यवृद्धिका कारण आयोजनलाई रु १२ अर्ब रकम थप वित्तीय दायित्वलाईसमेत समावेश गरिएको कम्पनीले जनाएको छ । आयोजनाको लागत निर्माण अवधिको ब्याजसहित रु ६९ अर्ब ५९ करोड पुग्ने संशोधित अनुमान छ । हालसम्म रु ४४ अर्ब सात करोड खर्च भइसकेको छ ।