रामेछाप । चैत ७ गते,
प्रदेश नम्बर ३ सरकारले आफ्नो प्रदेशभित्रका सबै स्थानीय तहलाई दमकल तथा एम्बुलेन्स दिने भएको छ । प्रदेश नम्बर ३ को १ सय १९ स्थानीय तहलाई प्रदेश सरकारले एम्बुलेन्स तथा दमकल सहयोग गर्ने योजना बनाएको हो ।
तीन नम्बर प्रदेश सरकारले महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकालाई दमकल तथा गाउँपालिकालाई एम्बुलेन्स दिने निर्णय गरेको छ । प्रदेश नम्बर ३ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रदेशको सबै स्थानीय तहमा एम्बुलेन्स तथा दमकलको लागि आवश्यकताको विवरण उपलब्ध गराउनको लागि स्थानीय तहलाई पत्रचार गरिसकेको छ ।
एम्बुलेन्स नहुँदा ग्रामिण क्षेत्रका विरामीहरुले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेकोले प्रदेश सरकारले सबै स्थानीय तहमा कम्तिमा एउटा एम्बुलेन्स उपलब्ध गराउने काम अगाडि बढाएको प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताए । नगर क्षेत्र भन्दा गाउँमा एम्बुलेन्सको आवश्यकता धेरै भएकोले पनि सरकारले गाउँपालिकालाई एम्बुलेन्स दिने कामलाई प्राथमिकतामा दिएको मन्त्री ढुंगेलले जानकारी दिए ।
अधिकाशं महानगरपालिका र उपमहानगरपालिकामा दमकल रहेपनि नगरपालिकाहरुमा भने दमकलको अभाव रहेको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिकामा मात्र दमकल रहेको छ । दुई नगरपालिका रहेको रामेछाप नगरपालिकामा भने दमकल छैन् । प्रदेश सरकारको यो निर्णयसंगै अब रामेछापको सुनापती , दोरम्बा , खाँडादेवी, उमाकुण्ड, गोकुलगंगा र लिखु तामाकोसी गाउँपालिकाले एम्बुलेन्स पाउने भएका छन् । त्यसैगरी रामेछाप नगरपालिकाले भने दमकल पाउने भएको छ ।
आफ्ना सवै स्थानीय तहलाई दमकल र एम्बुलेन्स प्रदान गर्ने प्रदेश ३ सरकारको तयारी
- प्रकाशित मिति: बिहिबार, चैत्र ७ २०७५
- तामाकोशी