काठमाडौँ । भारतको आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालीलाई अपमानित गर्दै गरेको ट्वीट हटाउकी छिन् । उनले ट्वीट गरेपछि आज बिहानैदेखि उनको आलोचना भइरहेको थियो । यही बीचमा उनले अर्को ट्वीट गरेकी थिइन् । उनले नयाँ ट्वीटमा आफ्नो आलोचना गर्नेलाई ‘नक्कली नेपाली’ भनेकी थिइन् । अहिले भने उनले दुवै ट्वीट हटाएकी छिन् । ट्वीट हटाउँदै उनले नयाँ ट्वीट गरेकी छिन् जहाँ उनले नेपालीसँग माफी मागेकी छिन् ।
अहिले उनले लेखेकी छिन् ‘थाहा पाएकी छु कि मेरो एक ट्वीटबाट नेपालका जनतालाई दुःख पुगेको छ । म यसको लागि आफ्नो छिमेकी देश नेपालका जनतासँग खेद व्यक्त गर्दछु । मेरो चाहना कसैको मन दुखाउने पटक्कै थिएन । मैले तपाइँहरुको भावनालाई ध्यानमा राख्दै ट्वीट हटाइदिएकी छु । गड ब्लेस । इण्डिया नेपाल फ्रेण्डशिप ।’
पता चला है कि मेरे एक ट्वीट से नेपाल के लोगों को दुःखद पहुँचा है,मैं इसके लिये अपने पड़ोसी देश नेपाल के लोगों से खेद व्यक्त करती हूँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी।
मैंने आपकी भावनाओं का ध्यान रखते हुए ट्वीट को हटा दिया है।

आज बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै उनले ट्वीटरमा लेख्दा नेपालीलाई अपमान गरेकी थिइन् । पहिले उनले आफ्नो ट्वीटमा लेखेकी थिइन् – प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ । नेपालका चौकीदार चोर हुँदैनन् । उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना हुन थालेको थियो ।
यही बीचमा उनले अर्को ट्वीट गर्दै लेखिन् ‘हाम्रो देशको प्रधानमन्त्रीले जबदेखि आफूलाई चौकीदार भन्न थाले त्यसपछि नेपालीहरुलाई चौकीदार शब्द गाली लाग्न थालेको छ । जबकि चौकीदार शब्दमा एउटा विश्वास भरोसा लुकेको छ । त्यसै कसैले आफ्नो सबथोक कसैलाई सुम्पेर चैनले निदाउँछ । नक्कली नेपाली मात्र भक्तजस्तो भाषा बोल्न सक्छन् । चिन्ता छैन ।’
भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन् । उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वा्चित भएकी थिइन् । उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।