रामेछापको मन्थलीमा माइक्रोबस दुर्घटना: एकको ज्यान गयो, एक जना घाइते

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २० २०७५
  • तामाकोशी

रामेछाप, फागुन २० गते ।
रामेछापको सदरमुकाम मन्थली नगरपालिका –२ करमबोटमा सोमबार साँझ माइक्रोबस दुर्घटना हुँदा एक जना पुरुषको ज्यान गएको छ भने एक महिला गम्भिर घाइते भएकी छिन् ।
ज्यान जानेमा गाडी धनी मुस्ताङका ४६ वर्षिय रामप्रसाद तुलाचन रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक मोहन थापाले जानकारी दिए । यस्तै घटनामा परि मन्थली नगरपालिका –२ की अञ्जना खड्का गम्भिर घाइते भएकी छिन् । मन्थलीबाट मालुखोला तर्फ जाँदै गरेको कुशेश्वर यातायातको बा १ ज ९९०१ नम्बरको माइक्रो बस साँझ ६ः३० बजेतिर दुर्घटनामा परेको हो ।
घाइते अबस्थामा रहेको तुलाचनलाई स्थानियहरुले उपचारको लागि मन्थली स्थित रामेछाप सामुदायीक अस्पताल ल्याउँदै गर्दा बाटैमा ज्यान गएको थियो । अर्का घाइते खड्कालाई भने थप उपचारको लागि काठमाडौँ रिफर गरिएको प्रहरीको भनाई छ । गाडी सडकबाट करिव एक सय मिटर तल तामाकोसी नदि किनारमा खसेको थियो । गाडीमा चालक सहित ३ जना सवार थिए । गाडी चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।