काठमाडौँ : शनिबार राती सर्लाहीको सदरमुकाम मलंगवामा एक युवकको गोलि हानी हत्या गरिएको छ।अज्ञात समूहले प्रहार गरेको गोली लागेर मलङ्गवा नगरपालिका–८ का ३१ वर्षीय मनोज कुमार यादवको मृत्यु भएको हो। उनलाई गएराती अज्ञात व्यक्तिले फोन गरेर बोलाइ, मलंगवा नगरपालिका–८ मा लगेर गोलीहानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
मृतक यादवमाथि पाँच राउण्ड गोली प्रहार गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सर्लाहीका प्रहरी उपरीक्षक गणेशचन्द्र भट्टराईले जानकारी दिए। घटनामा संलग्नहरुको खोजी तीव्र पारिएको उनले बताए।
उनका अनुसार घटनास्थलमा विष्फोट भैसकेका पाँच थान र प्रयोग नभएको एक थान गोली फेला परेको छ । मृतकको मोबाइलसमेत साथमै भेटिएकाले अभियुक्त पहिचान गर्न सहज हुने प्रहरी अधिकारीले बताएका छन्।
गएराति ९ बजे मृतक यादव घरमा सुतेको बेला एक व्यक्तिले फोन गरेर बोलाएपछि दाई घरबाट निस्केको बहिनीले बताएकी छिन्। उनको बयानका आधारमा प्रहरीले घटनामा संलग्नहरुको खोजि कार्य अगाडी बढाएको छ।सगुन खबरबाट साभार