सुदूरपश्चिम बासीलाई अर्को खुसि ! सुरक्षा चेकपोष्ट निर्माणपछि लाली पुल सञ्चालन हुने,, नेपालले भारतमा बाटो र चेक पोष्ट निर्माण गरिदिनुपर्ने कुरामा सहमति

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १३ २०७५
  • तामाकोशी

उद्धव सिंह धामी दार्चुला, फागुन १३ गते ।।
लेकम गाउँपालिका वडा न ३ लालीमा नेपालको छिरबिला र भारत तर्फको डौडा जोड्ने गरी तीन महिना पहिले नै निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको अनुगमन गरेका छन् ।
नेपाल र भारत जोड्ने सीमा पुलको आज भारत र नेपालका अधिकारीहरुको टोलीले द्विपक्षीय निरीक्षण गरेका हुन् । द्विपक्षीय अनुगमन पश्चात् नेपालले भारतीय उक्त क्षेत्रमा बाटो र चेक पोष्ट निर्माण गरिदिनुपर्ने सहमती भएको छ । भारतीय भूमिमा बाटो र चेक पोष्ट निर्माणका लागि तत्कालको लागी गाउँपालिकाको बजेटबाट भएपनि ती संरचना निर्माण कार्य अगाडी बढाउने नेपाली पक्षले जनाएको छ । लेकम गाउँपालिकाले बाटो निर्माणका लागि विनियोजन गरेको २ लाख बजेट भारततर्फको बाटो र सुरक्षा चेक पोष्ट निर्माण गरिने भएको छ । ती संरचना निर्माण गरि तत्काल पुल सञ्चालन गरिने भएको छ ।
पुष २ गते नै निर्माण सम्पन्न भइसकेको सीमा पुल सञ्चालन नभएपछि तीन महिना पश्चात् द्विपक्षीय अनुगमान भएको हो । नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल हेडक्वाटर ५० नम्बर गुल्म दार्चुलाका सशस्त्र डिएसपी भीम बहादुर चन्द, जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रबिन्द्र कठायत, जिल्ला प्रशासन कार्यालय दार्चुलाका नायब सुब्बा पदमराज भट्ट, महाकाली नदी नियन्त्रण आयोजनाका इन्जिनीयर कलामुद्दीन अन्सारी, सब इन्जिनीयर राजेन्द्र नाथ, नेपाल पत्रकार महासंघ दार्चुलाका जिल्ला अध्यक्ष शंकरसिँह धामीको सहभागिता रहेको थियो ।

यस्तै लेकम गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष राजेन्द्र प्रसाद जोशीको पनि सहभागिता रहेको कार्यालय सहायक दुर्गादत्त जोशीले जनकारी दिनुभयो ।
यस्तै भारतका तर्फबाट पिथौरागढ जिल्ला अन्तरगत डिडिहाट तहशीलका उप जिल्लाधिकारी बैभव गुप्ता, कणालिछिनाका तहशीलदार नरमदेश्वरी भट्ट, एसएसबी सहायक कमाण्डेन्ट अशोक शर्मा, उत्तराखण्ड अस्कोट थानाका सहायक इन्स्पेक्टर एसएमआर आशिक खान लगायतको सहभागिता रहेको थियो ।



गत पुष २ गते नै पुल निर्माण सम्पन्न भएपनि हालसम्म पुल सञ्चालन हुन सकेको छैन । सस्पेन्स ब्रीज डिभिजनबाट प्राविधिकको टोली आइ पुल सञ्चालन गर्न सकिने जनाएपनि भारतीय पक्षको अनुमति नहुदाँ हालसम्म पुल सञ्चालन हुन नसकेको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले लिखित र मेल मार्फत भारतीय पक्षलाई ३÷४ पटक पत्राचार गर्दा पनि भारतीय पक्षले कुनै प्रतिक्रिया नदिएपछि पुल सञ्चालन गर्न सकिएको थिएन । यसै विच प्रतिनिधिसभा सासंद गणेश सिह ठगुन्नाले स्थानीय प्रशासनको अनुरोध नमानेपछि परराष्ट्र मन्त्रालय मार्फत भारतीय राजदुतावास संग कुरा गरेपश्चात आज लाली पुलको संयुक्त अनुगमन गर्न भारतीय पक्ष तयार भएको थियो । लेकम गाउँपालिका अध्यक्ष प्रमानन्द जोशीले पुल सञ्चालनको लागि भारतीय ग्राम पञ्चायत अध्यक्षलाइ आफैले भेटेर सहयोग गर्न आग्रह गरेको र प्रतिनिधिसभा सदस्य ठगुन्नाले समेत परराष्ट्र मन्त्रालयमार्फत दुतावासलाइ जानकारी गरेपश्चात पुल सञ्चालनका लागि अनुगमन अनुगमन गरिएको बताउँनुभयो । दार्चुलामा अहिले पनि आधादर्जन स्थानमा महाकाली नदीमाथि ट्युव तथा तुइनको यात्रा हुने गरेको छ ।

प्रतिनिधिसभा सासंद गणेश सिह ठगुन्नाले दार्चुला जिल्लामा नेपाल सरकारको तुईन उन्मुलन कार्यक्रम अन्तर्गत स्विकृति ८ ओटा झोलुङ्गे पुल मध्ये महाकाली नदीमा ६ ओटा पुलहरुको भारतीय प्रशासनको स्विकृति नहुनाले निर्माण शुरु गर्न नसकिएको बताउँदै पुल निर्माणका लागि अभिलम्ब भारत सरकार समक्ष पहल गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको वताउनु भयो । भारतीय पक्षले प्रतिक्रिया नै नदिएका बेला आज संयुक्त रुपमा द्विपक्षीय स्थलगत अनुगमन गरि पुल सञ्चालन गर्ने निष्कर्ष निकालिएको छ ।