काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सबै नेपालीले स्वदेशी चामल खान थाल्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले अब बास्नादार विदेशी चामल हैन हरेक नेपालीले स्वदेशी चामलको भात खाने बानीको विकास गर्नुपर्ने बताउनुभएको हो ।
आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको वर्तमान अवस्था र भावी सोच बिषयक गोष्ठीमा उहाँले ‘बास्नादार र विदेशबाट आयातगरिएको चामलभन्दा स्वदेशमै उत्पादन भएको चामलको भात खाने आदतको विकास गर्न जरुरी रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले नेपालीको खाने बानी परिवर्तन हुँदै गएको भन्दै त्यसै अनुसार खेती प्रणालीमा पनि सुधार गर्नुपर्ने बताउनुभयो । ‘पहिला नेपालीहरुमा सागसब्जी कम्ती खाने बानी थियो । अहिले यसमा परिवर्तन आएको छ । त्यसकारण अहिलेको भन्दाचार गुणा बढी सागसब्जीको उत्पादन गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले जोड दिनुभयो ।
उहाँले दुई तिहाइ जनसंख्या कृषिमा भए पनि त्यस अनुसारको प्रतिफल प्राप्त हुन नसकेको बताउनुभएको छ । ‘हाम्रो देशको लागि यति ठूलो जनसंख्या कृषिमा निर्भर हुनु राम्रो होइन । कृषिमा प्रविधि र यान्त्रीकरणको प्रयोग गरेर जनसंख्याको ठुलो हिस्सालाई अन्यत्रै उपयोग गर्नुपर्दछ’ उहाँले बताउनुभयो । परम्परागत खेती प्रणाली सुधार गरेर चक्ला खेती प्रणालीको विकास गर्नुपर्ने पनि उहाँको धारणा छ ।