समृद्ध नेपाल निर्माण गर्न खेलकुदले ठुलो भुमिकाः खेलकुदमन्त्री विश्वकर्मा

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १२ २०७५
  • तामाकोशी

रामेछाप, फाल्गुन १२ गते । 
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले समृद्ध नेपाल निर्माण गर्न खेलकुदले ठुलो भुमिका खेल्ने बताउनु भएको छ । खेलकुदको विकासबाट मात्र देशको पहिचान दिने भएकोले पर्यटन प्रबर्धनमा समेत सहयोग पुग्ने बताउनु भयो । रामेछापको उमाकुण्ड गाउँपालिकाको आयोजनामा च्यादलु प्रितिमा सुरु भएको राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिताको आइतबार उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।
मन्त्री विश्वकर्माले खेलकुदलाई अबसर र चुनौतिको रुपमा लिइ विशेष प्राथमिकता दिएकोले अब खेल क्षेत्रलाई उद्योगको रुपमा विकास गरिने बताउनु भयो । देशको भौगोलिक बनावटलाई ख्याल गरेर हावा पानी, वातावरण सुहाउदो विशेष खेलकुद प्याकेज ल्याइने बताउनु भयो । मन्त्री विश्वकर्माले सबै राजनितिक शक्ति मिलेर देशविकास क्षेत्रमा एकताबद्ध भएर जानुको विकल्प नभएको समेत बताउनु भयो ।
यस्तै संघिय सांसद एवं पुर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठले दुई तिहाइको बहुमत प्राप्त सरकारबाट मात्रै समृद्ध नेपाल निर्माणको सम्भव रहेको बताउनु भयो । उहाँले बर्तमान सरकारद्धारा विभिन्न प्याकेजका योजनाहरु निर्माणको क्रममा भएकोले अब देशले गति लिने विश्वास व्यक्त गर्नु भयो ।
वडा नम्बर ४ प्रितिका वडाध्यक्ष मानबहादर सुनुवारको अध्यक्षतामा भएको कार्यक्रममा उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गाउँपालिका भित्रको सम्भावना र चुनौतियुक्त मागपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको उद्घाटन सभालाई प्रदेश नम्बर ३ का सांसद शान्तिप्रसाद पौडेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, नेकपाका जिल्ला नेता आनन्द श्रेष्ठ, नेपाली काङ्ग्रेसका झपडराज भण्डारी लगाएतले सम्बोधन गर्नु भएको थियो ।
उमाकुण्ड गाउँपालिका भित्रका सबै माध्यामिक विद्यालयहरुको विद्यार्थीहरुले मात्र सहभागिता जनाउने खेलकुदको कार्यक्रम फाल्गुन १४ गते सम्म चल्नेछ ।