“सालको पात टपरी”काण्ड – वशन्त थापा अदालत जाने हो भने रवि ओड र नेपाल आइडलले लाखौं क्षतिपूर्ति तिर्नुपर्ने हुन सक्छ । खुल्यो अर्को रहस्य

  • प्रकाशित मिति: मंगलबार, माघ २२ २०७५
  • तामाकोशी

२२ माघ, काठमाडौं । रवि ओड प्रकरणले नेपाली संगीतमा कपिराइटको बहसलाई फेरि एकपटक सतहमा ल्याइदिएको छ । नेपालमा बौद्धिक सम्पत्तिको अनाधिकृत प्रयोगलाई जनमानसमा त्यति गम्भीर रुपमा लिइदैन । तर, अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने यो निकै गम्भीर इस्यू मानिन्छ । कपिराइटको मुद्दामा करोडौं मात्र होइन, अरबौं क्षतिपूर्ति तिर्नुपरेका दृष्टान्तहरु विश्वमा धेरै छन् ।

नेपालकै कुरा गर्दा, केही महिना अगाडि मात्रै निर्देशक शम्भु प्रधानले आफ्नो पुरानो फिल्म ‘सम्झना’ गीतलाई बिनाअनुमति प्रयोग गरिएको भन्दै फिल्म ‘कृ’ का निर्मातालाई प्रहरीमा तानेका थिए । प्रहरीले ‘कृ’का निर्माता सुवास गिरीलाई एक रात हिरासतमासमेत राख्यो । तर, मुद्दा दर्ता अगावै दुईपक्षबीच सम्झौता भयो । शम्भुले सुवास गिरीसँग ११ लाख ठटाए ।



अहिले त नेपालको कानूनमा सार्वजनिक सवारीसाधनमा गीत बजाउँदासमेत कपिराइट लाग्ने व्यवस्था छ । यातायात व्यवस्था विभागले बनाएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिकामा गीत-संगीत प्रयोग गरेका सार्वजनिक यातायातले तोकिएको रोयल्टी तिर्नुपर्ने उल्लेख छ ।

नेपालमा कपिराइटको विषय पटक-पटक उठ्ने गर्छन् । तर, अदालतसम्म कमै पुग्छन् । प्रायः मिडियावाजीमै सिमित हुन्छन् भने कतिपय आपसी सहमतिमा सल्टिन्छन् । कपिराइटको विषयमा जनचेतनाकै अभाव रहेकाले स्रष्टाहरु अन्यायमा पर्ने गरेको बताउँछन् प्रतिलिपी अधिकार विज्ञ रामप्रसाद भट्टराई ।

प्रतिलिपी अधिकार कार्यालयका रजिस्टारसमेत रहिसकेका भट्टराईले रवि ओडको केसमा बसन्त थापाले क्षतिपूर्ति माग गर्दै अदालत जान सक्ने बताए ।

उनले अनलाइनखबरसँग भने, ‘स्रष्टाको अनुमतिबिना स्टेजमा गीत गाएर रवि ओडले प्रतिलिपी अधिकार ऐनको उल्लंघन गरेका छन् । यदि बसन्त अदालत गए भने रवि ओड र नेपाल आइडलले लाखौं क्षतिपूर्ति तिर्नुपर्ने हुन सक्छ ।’

मानिसहरुले प्रतिलिपी अधिकारको विषय राम्रोसँग नबुझेकाले उल्टै बसन्त थापाप्रति गलत टिप्पणीहरु गरिरहेको बताए । ‘उहाँमाथि गरिएका टिप्पणीहरु हेर्दा पनि नेपालमा प्रतिलिपी अधिकारको विषयमा अझै चेतना अभाव छ भन्ने महसुस भयो ,’ उनले भने ।

भट्टराईको भनाइअनुसार एउटाले सिर्जना गरेको गीत अरु कसैले व्यवसायिक प्रयोजनले गाउन पाउँदैन । गाउने नै हो भने सम्बन्धित स्रष्टासँग लिखित अनुमति लिएको हुनुपर्छ ।

ऐनअनुसार पहिलोपटकको अपराधमा १० हजारदेखि १ लाख जरिवाना वा ६ महिना कैद हुन सक्छ । दोस्रोपटक अपराध दोहोरिएमा २० हजारदेखि २ लाख जरिवाना वा एक वर्ष कैद सजाय हुन सक्छ

‘बिहेमा, पिकनिकमा गाएजसरी स्टेजमा गाउन पाइँदैन,’ उनले भने, ‘यसो गर्दा एउटाले दुख गरेर गीत सिर्जना गर्ने र त्यसबाट अर्कोले पैसा कमाउने स्थिति बन्छ । तर, यदि स्रष्टासँग लिखित अनुमति नै लिएको छ भने चाहीँ गाउन सकिन्छ । स्रष्टाले उक्त गीत गाएर प्राप्त हुने आम्दानीको केही हिस्सा आफूले पाउने शर्तमा वा केही पनि नपाउने शर्तमा पनि गाउने अनुमति दिन सक्छन् ।’

त्यसो त पुराना गीतहरुका रचनाकार/संगीतकार धेरै आज जिवित छैनन् । उनीहरुको गीत गाउँदा कोसँग अनुमति लिने त ?

भट्टराईको भनाइ अनुसार स्रस्टाको मृत्यु भएको खण्डमा प्रतिलिपि अधिकार उसको पारिवारिक सदस्यमा सर्छ ।

‘यदि स्रष्टाले अरु कसैसँग सम्झौता गरेर कपिराइट हस्तान्तरण गरेको छैन भने अरु सम्पत्तिको हक जस्तै यो हक पनि निजको श्रीमती/श्रीमान वा छोरामा हस्तान्तरण हुन्छ,’ उनले भने ।

गीतको वास्तविक स्रष्टा को ?

कुनै पनि गीत रेकर्डिङमा मुल रुपमा चार पक्ष संलग्न हुन्छन् । गायक-गायिका, संगीतकार, रचनाकार र रेकर्डिङ कम्पनी । उनीहरुमध्ये कोसँग गीतको कपिराइट हुन्छ त ? स्रष्टा को हो त ?

प्रतिलिपी अधिकार ऐनमा लेखिएको छ, ‘प्रतिलिपि अधिकार धनी भन्नाले कुनै रचनाको रचयितामा आर्थिक अधिकार निहित रहेको भए त्यस्तो रचयिता, रचयिताबाहेक अन्य कुनै व्यक्ति वा संस्थामा मूलरुपमा आर्थिक अधिकार निहित रहेको भए त्यस्तो व्यक्ति वा संस्था र आर्थिक अधिकारको स्वामित्व कुनै व्यक्ति वा संस्थालाई हस्तान्तरण गरिएको भए त्यस्तो व्यक्ति वा संस्था सम्झिनुपर्छ ।’

यस दफाले आर्थिक अधिकार र प्रतिलिपि अधिकार अन्तरसम्वन्धित हुने देखाउँछ । पूर्वरजिस्टार भट्टराई भने कुनै पनि सांगीतिक सिर्जनाको कपिराइट मुलरुपमा रचयिता अर्थात् गीतकारसँग हुने बताउँछन् । ‘गीतका शब्द जसले रचेको हो, सो गीत उसैको बौद्धिक सम्पत्ति हो । किनकी शब्दबिना गीत बन्दैन,’ उनी भन्छन् ।

यद्यपि, गीतकारले निश्चित पैसा लिएर निश्चित समयका लागि आफ्नो गीतको कपिराइट बेच्नसक्ने व्यवस्था ऐनमा गरिएको छ । ऐनको दफा २४ मा लेखिएको छ, ‘प्रतिलिपि अधिकार धनीले आफूलाई प्राप्त आर्थिक अधिकारमध्ये सबै वा केही अधिकार लिखितरुपमा सम्झौता गरी अरुलाई हस्तान्तरण गर्न वा कुनै शर्त तोकि वा नतोकि प्रयोग गर्न अनुमति दिन सक्नेछ ।’

सालको पातका गीतकार नवराज पन्त हुन् । उनी अमेरिकामा बस्छन् । अमेरिकाबाटै उनले आफ्नो सिर्जना बसन्त थापालाई बेचेका थिए । बसन्तको आफ्नै स्टुडियो अभ्यास डिजिटल्समा गीत रेकर्ड भएको हो ।
अनलाईन खबरबाट साभार,