सुशासनलाई पहिलो प्राथमिकता दिएर काम गर्नुः प्रदेश मुख्यमन्त्री पौडेल

  • प्रकाशित मिति: सोमबार, माघ १४ २०७५
  • तामाकोशी

रामेछाप, माघ १४ गते ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमनि पौडेलले सुशासनलाई पहिलो प्राथमिकता दिएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ । रामेछापको मन्थलीमा आज कार्यालय प्रमुखहरु संगको भेटघाट कार्यक्रममा मुख्यमन्त्री पौडेलले सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नु भयो “सकेसम्म सेवाग्राहीहरुले ठिक ढंगले सेवा पाउन भन्ने हाम्रो मुख्य उदेश्य हुन्छ, विना झन्झट, विना दुख सेवा पायो भने उनीहरुले सरकारको अनुभुति गर्न पाउनेछ ।” प्रदेश सरकार र स्थानिय सरकारविचको अन्तरक्रिया कार्यक्रमको सिलसिलामा रामेछाप आउनु भएका मुख्यमन्त्री पौडेलले जनताले अहिलेको जनप्रतिनिधीबाट धेरै आशा गरेकाले दिर्घकालिन सेवा लिने खालका योजनाहरुको छनौट गरी काम गर्न स्थानिय सरकारका प्रमुख र उपप्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।
जनप्रतिनिधीले गर्ने कामले प्राप्त हुने प्रतिफल संग गणना गरेर अगाडी बढ्न मुख्यमन्त्री पौडेलले निर्देशन दिनु भएको छ । परिणाम नदिने पैसा मात्र खर्च गर्ने खालको योजना अबको दिनमा पास नहुने समेत उहाँले बताउनु भयो ।

पहिलो पटक रामेछाप आउनु भएका मुख्यमन्त्री डोरमनी पौडेलले मन्थली हाटेचौर स्थित तिनलालको पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण गर्नु भएको थियो । यस्तै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले नगरपालिकामा स्वागत गर्दै नगरपालिकाले गरेका गतिविधी र प्रदेश सरकारबाट गरेको अपेक्षाको बारेमा जानकारी गराउनु भएको थियो ।
टोलीमा मुख्यमन्त्री पौडेलसंगै आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेल, प्रदेश सांसद शान्तिप्रसाद पौडेल, विशाल खड्का लगाएतको पनि उपस्थिति रहेको थियो ।