माघे संक्रान्तिको दिनैमा रोल्पामा रुवाबासी ! माईत नपुग्दै मृत्युको मुखमा

  • प्रकाशित मिति: मंगलबार, माघ १ २०७५
  • तामाकोशी

रोल्पामा यात्रुवाहक जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । जिल्लाको सदरमुकाम लिबाङबाट मिरुल टुटु जाँदै गरेको लु १ ज ३३३२ नम्बरको जिप सोमबार दिउसो दुर्घटना हुँदा परिवर्तन गाउँपालिका राङसीकी २१ वर्षीया सञ्जु बुढामगरको मृत्यु भएको छ । माघे संक्रान्तिको पर्व मनाउन कुरेलीस्थित माइत हिँडेकी थिइन् । घटनामा उनीसँगै जिपमा सवार उनको भाई र बहिनी समेत घाइते भएका छन् ।

अन्य १२ जना घाईतेमध्ये एकजनाको अवस्था चिन्ताजनक छ । रोल्पा नगरपालिका–२ सिमलबाङकी निशा रोकामगरकी ९ महिने छोरीको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ । । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दिपक थापाका अनुसार दुर्घटनामा १२ जना घाइतेको स्थानीयबासिन्दा र खरिबोट प्रहरीले उद्धार गरेका थिए ।



उनीहरु सबैलाई जिल्ला अस्पताल रेउघामा उपचारका लागि ल्यायाइएको छ । घटनाका प्रत्यक्षदर्शी खरीबोटकी भिमा बुढामगरका अनुसार जिप सडकबाट सिधै खोलामा खसेको थियो । घाइते सबैको नाम र ठेगाना यकिन भइसकेको छैन ।

प्रहरीका अनुसार यस सडक खण्डमा प्रायः जिप क्षमता भन्दा बढी यात्रु बोकेर अप्ठ्यारो बाटो गुड्ने गर्छन् । घटनामा जिपका चालक समेत घाइते छन् । जिप सडकबाट खोलामा खसेको छ । परिवर्तन गाउँपालिका उपाध्यक्ष हितकुमारी बुढामगरका अनुसार परिवर्तन गाउँपालिका–१ कुरेली खरिबोटबाट दिउँसो ३ः३० बजेतिर जिप खोलामा खसेको थियो । दुई सातायता जिल्लामा ५ वटा सवारी दुर्घटना भएका छन् । केही दिनअघि मात्रै परिवर्तन गाउँपालिकाकै बागमारा जाँदै गरेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो । फाेटाे फाइल