झापा । झापामा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । चिसो पियपदार्थ कोकमा रक्सी मिसाएर खुवाएर भद्रपुरकी किशोरीमाथि दुई युवकले सामूहिक बलात्कार गरेका हुन् । सो घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ, भने एकजना अझै फरार रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ४ फागुचोक निवासी ३२ वर्षीय घरबहादुर लिम्बू रहेका छन् । अर्का फरार आरोपी सोही ठाउँका २८ वर्षीय राजेश राजवंशीको खोजी भइरहेको बताइएको छ ।
यही पुस २२ गते आइतबार आपसी चिनजानको आधारमा दुईजना किशोरीलाई ती दुई युवकले कोक खान आग्रह गरेका थिए। किशोरीद्वय उनीहरुको कुरा स्वीकार गरी कोक खाइन्। तर, ती दुई युवकले कोकको बोतलमा रक्सी मिसाएको उनीहरुले थाहा पत्तोसमेत पाइनन्। केही समयपछि रक्सीले लठ्ठ परेपछि ती दुई किशोरीमध्ये १५ बर्षीया एक किशोरीलाई नजिकैको जंगलमा लगेर युवकद्वयले सामूहिक बलात्कार गरेका थिए। रक्सीले लठ्ठ परेकी ती किशोरीलाई आफु बलात्कार भएको थाहा समेत भएन।
साँझ परेपछि दुवै किशोरी घर नर्फिएपछि उनीहरुको खोजी कार्य भयो। बलात्कार हुनबाट जोगिएकी अर्को किशोरीले परिवारजनलाई सबै घटनाबारे जानकारी गराएपछि मात्र बलात्कार भएको घटना सार्वजनिक भएको हो ।
त्यसपछि पीडित परिवारले यही पुस २७ गते प्रहरी कार्यालय झापामा किटानी जाहेरी दिएपछि प्रहरीको विशेष सुराकीबाट लिम्बूलाई पुस २८ गते भद्रपुर २ स्थित डिगाउँबाट पक्राउ गरेको हो।