कञ्चनपुर । काठमाडौं । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लाग्न नसकेका कारण सरकारको आलोचना बढीरहेको छ । तर, बालिकाको घरमा भने कलह देखिएको छ । निर्मलाका बाबु यज्ञराजले पत्नी दुर्गादेवीलाई पिटेको विवरणहरू बाहिर आउन थालेका छन् । दुर्गादेवीले हत्यारा पत्ता लगाउनका लागि भेजिनल स्वावसँग म्याच खाने वा नखाने भनी प्रशासनको आग्रहमा रगत परिक्षण गराएको भोलीपल्टको घटना हो, यो ।
बुधबार दुर्गादेवी रगत दिनका लागि अस्पताल पुगेकी थिइन् । तर, विहीबार रगत दिएको विषयलाई लिएर दुर्गादेवीमाथि हातपात भएको केहीले बताएका छन् । केहीले भने विभिन्न तहका सरकारले दिने भनेको करिब १८ लाख रूपैंयाको राहत बाँडफाँटको विषयलाई लिएर यज्ञराजले दुर्गादेवीमाथि हातपात गरेको बताइएको छ ।
१० साउनमा निर्मलाको बलात्कारसँगै हत्या भएपछि त्यसका अभियुक्त अहिलेसम्म पत्ता लाग्न सकेका छैनन् । प्रहरीले पटक–पटक गरी शंकास्पद व्यक्तिको डिएनए परिक्षण पनि गराएको थियो ।
त्यसपछि कञ्चनपुरमा भएको आन्दोलनमा यज्ञराज र दुर्गादेवी सँगै देखिएका थिए भने काठमाडौंसम्म उनीहरू सँगै आइपुगेका थिए । दुर्गादेवीले भने राहतको विषयमा यज्ञराजले कुटपिट गरेको बताएकी छन् । डीएनए परीक्षणका लागि रगतको नमुना संकलन गरिएको विषयबारे थाहा पाएपछि श्रीमान र सौताले आफूमाथि दुर्व्यवहार गरेको दुर्गादेवीले बताइन ।
‘निर्मलाको स्वाबमा भएको डीएनए सही हो कि होइन भनेर जाँच्नुपर्ने माग हामीले नै गरेका थियौँ’, उनले भनिन, ‘बुवा र मेराे रगतको नमुना लिने कुरा थियो । म तीन–चार दिन जिल्ला प्रशासन कार्यालय गएँ तर बुवा नगएपछि हिजो बाध्य भएर एक्लै रगतको नमुना संकलन गरेँ ।’
रगतको नमुना संकलन गराएपछि आफूलाई श्रीमानले हातपात गरेको दुर्गादेवीले बताइन । बिहान खाना पकाउँदै गर्दा श्रीमानले आफ्नो घाँटी अठ्याउँदै कुटपिट गरेको दुर्गादेवीकाे गुनासाे छ ।
छोरीको हत्या भएको ६ महिना बितिसक्दा पनि न्याय नपाइएको बताउँदै आफूले राहत रकम बुझ्ने निर्णयसमेत गरेको उनले बताइन । तर, आमाले राहत रकम बुझ्ने निर्णय गरे पनि निर्मलाका बुबाले भने सहमत छेनन् ।
‘छोरीले लामो समय बितिसक्दा पनि न्याय पाएकी छैन । अब आन्दोलन पनि सेलाउँदै गएको छ’, दुर्गादेवीले चनिन ‘त्यसैले मैले धर्ना बस्नुको कुनै अर्थ छैन । बरु राहतको रकम बुझेर सरकारलाई अनुसन्धानका लागि सहयोग गर्नुपर्छ भन्ने सोचेँ । ’ आफूले राहत रकम बुझ्न खोज्दा श्रीमान र सौताले आफूमाथि नै छोरीको हत्या गरेको आरोप लगाएको पनि दुर्गादेवीले गुनासो गरिन ।
गत साउन १० गते भीमदत्त नगरपालिका १८ भगतपुरमा साथीको घर गएकी निर्मला दोस्रो दिन भीमदत्त नपा २ र १८ को सीमास्थित उखुबारीमा मृत भेटिएकी थिइन् । सोही दिनदेखि अपराधी पत्ता लगाउन माग गर्दै बिभिन्न चरणमा आन्दोलनपनि भयो तर अपराधी अझै पत्ता लागेको छैन ।