काठमाडौं । तत्कालीन राज महेन्द्र शाहकी लेडी ड्राइभर रामदेवी श्रेष्ठ हाल दिलशोभाको आमाघरमा आफ्नो जीवन बिताउँदैछिन् । आउँदो माघबाटरामदेवी श्रेष्ठ १०२ वर्षकी हुँदैछिन् । ६–७ वर्ष राजाको गाडी चलाएकी उनी राजदरबारमा सवारी चलाउने डाइभर्नीको नामले चिनिन्थिन् । तत्कालीन राजा महेन्द्रलाई हालको नारायणहिटी दरबार संग्राहलयदेखि कवाजका लागि टुँडिखेल र दर्शनका लागि विभिन्न मन्दिर तथा शक्तिपीठमा ओहोरदोहोर गराउने रामदेवी काठमाडौंको ठँहिटीमा जन्मेहुर्केकी हुन् ।
एकातिर आफ्ना बुवा र काका समेत राजवैद्य थिए भने आफ्नो श्रीमान् समेत दरबारमै गाडी चलाउने गर्थे । त्यसैले दरबारसम्म पुग्न र सवारी साधन चलाउने सीप सिक्न खासै गाह्रो नपरेको उनको अनुभव छ ।
न त उनीसँग सवारी चालक अनुमतिपत्र थियो न त उनी कहिल्यै दुर्घटनामा नै परिन् । कारण थिए, राजाको सवारी चलाउन किन अनुमतिपत्र चाहियो भन्ने सम्बद्ध अधिकारीको प्रतिप्रश्न र धैर्यपूर्वक सवारी चलाउने उनको शैली ।
घर नजिकै सवारी पार्किङ रहनु र आफ्ना श्रीमान्ले समेत दरबारको गाडी बेलाबेला घरमै ल्याउने हुँदा उनलाई सवारी चलाउने सीप निखार्न धेरै समय लागेन । ठमेलबाट बालाजु हुँदै हालको चक्रपथ बाहिर जाने बाटोमा उनले कुशलतापूर्वक सवारी साधन चलाएपछि सम्बद्ध निकायले ‘तिमी अब पास भयौ’ भनेपछि आफू दरबारको गाडी चलाउन थालेको उनी बताउँछिन् ।
‘कतै जानुपर्यो’ भने दरबारबाट खबर आइहाल्थ्यो, अनि दौडँदै पुग्थेँ,’ उनी सम्झिन्छिन् । रामदेवीको गाडी हँकाइबाट राजा महेन्द्र पनि खुसी थिए । उनका अनुसार राजा महेन्द्र खुसी भएपछि सानो ‘ट्याक्सी’ बकस मै दिएका थिए ।
आफ्नो जीवनकालमा झण्डै १६–१७ वर्ष सवारी साधन चलाए पनि राजा महेन्द्रको गाडी भने उनले ६–७ वर्षमात्र चलाइन् । राजा महेन्द्र र आफ्ना श्रीमान् कृष्णदास श्रेष्ठको मृत्युपछि आफूले सवारी चलाउन छाडेको उनको भनाइ छ । उनको सवारीमा राजा महेन्द्रका अतिरिक्त राजा वीरेन्द्र, राजा ज्ञानेन्द्रका साथै दरबारमा काम गर्ने कर्मचारी समेत चढेको उनी सम्झिन्छिन् ।
‘घरमा पानी भर्नेदेखि तीनवटी सासूहरू ननिदाउञ्जेल सम्म गोडा थिच्ने काम गर्नुपर्थ्यो। बीचमा दिनभर दरबारमा काम गर्दा आम्दानी हुने भएकोले सबैजना खुसी नै थिए,’ उनले भनिन् । गुच्चा खेल्दाखेल्दै माया बसेर बिहे भएको बताउने उनले भनिन्, ‘हामी एकअर्काले मन पराउने र नछुट्टिने बताएपछि दुवै परिवार राजी भएर विवाह गर्यौँ ।’
उनी थप्छिन्, ‘९० सालको भूकम्प आउँदा म १५–१६ वर्षकी मात्र थिएँ । त्यसको एकदुई वर्षमै विवाह भयो र विवाहको केही समयपछि दरबारमा मैले गाडी चलाउन थालेकी हुँ ।’ आफ्ना आमा–बुवा र श्रीमान् बितेपछि जीवन केही कष्टकर बन्दै गएको उनको अनुभव छ । तर कसैलाई शत्रु नदेख्ने र सबैसँग मिठो बोल्ने हुनाले आफूलाई सबैले माया गर्ने गरेको उनी बताउँछिन् ।
‘तर ठँहिटीमै रहेको मेरो घर मेरै आफन्तले छलकपट गरेर बेचिदिए अनि मलाई एक लाख रुपैयाँमात्र दिए । तर मैले अस्वीकार गरेँ,’ उनी सम्झिन्छिन् । घर नभएपछि बस्ने स्थानको टुंगो नभएकोले उनी कसैको सहयोगमा काठमाडौंको रविभवनस्थित दिलशोभा श्रेष्ठद्वारा सञ्चालित आमाघरमा आश्रय लिन पुगिन् ।
‘कहिल्यै दुख भोग्नु परेन, सधैँ सुख शान्ति गरेर बसें, सधैँ भकारी भरि नै हुन्थे । तर अहिले आमाले (आमाघरकी सञ्चालक दिलशोभा) यहाँ ल्याउनुभएको छ । यहाँ पनि घरमा जस्तै खुसी लाग्छ । कुनै गुनासो छैन ।’
उनी निसन्तान भएकोले उनलाई हेर्ने कोही नभएको उनलाई चिन्नेहरू बताउँछन् । तर उनी भन्छिन्, ‘मेरा आफन्तहरू त छन् तर को कहाँ छन् मलाई अहिले थाहा पनि छैन र म भेट्न पनि जान सक्दिन ।’
आफ्नी बालसखा मंगलादेवी (सर्वमान्य नेता गणेशमान सिंहकी धर्मपत्नी)सँग खेल्दै घुम्दै ‘मोज’ गरेको उनलाई स्पष्ट सम्झना छ ।
चार कक्षा पास गरेकी उनी भन्छिन्, ‘मखनस्थित स्कूलमा पढ्न जाँदा स्थानीय ‘बुढिहरूले’ (महिलाहरूले) आफूहरूलाई खिसिट्यूरी गर्थे ।’ लामो हाँस्दै उनले भनिन्, ‘बुढिहरूले तथानाम भनेपनि मंगलादेवी र म नसुनेझैँ गरि किताब कापी लुकाएरै स्कूल जान्थ्यौँ, फर्किन्थ्यौँ ।’
कुराकानीका क्रममा आफ्नो बाल्यकाल, जन्मस्थान र आसपासका स्थानहरूमा आफूले बिताएका पलहरूलाई सचित्र वर्णन गर्ने उनलाई जीवनप्रति कुनै गुनासो वा पछुतो छैन । –बीबीसी