रत्नपार्कले गुमाएका मुकुन्द घिमिरे ,मौलाउदो यौन धन्दा १ चोटी गरेको ५०० देखि ५००० सम्म

  • प्रकाशित मिति: शनिबार, पुष २१ २०७५
  • तामाकोशी

सामाजिक सञ्जालमा चर्चा कमाएका मुकुन्द घिमिरे ‘मुकुन्दे’ कुनै बेला रत्नपार्कभित्र रुखमा बसेर माओवादीविरुद्ध तिखा वाण हान्थे । रत्नपार्क मुकुन्देको मागी खाने भाँडो थियो । रत्नपार्कमा अझ यौनकर्मीहरुको पनि अखडा थियो । साँझ पर्नासाथ खुलेआम यौनधन्दाका लागि बार्गेनिङ हुने गर्‍थ्यो । सरकारले रत्नपार्कलाई संरक्षण गरी पार्क बनाएपछि मुकुन्देहरु विस्थापित भए । र, जादु देखाउने बहानामा बेरोजगार युवाहरुबाट पैसा बटुल्न पाएकाहरु पनि विस्थापित हुन पुगे । तर, यौनकर्मीहरु विस्थापित भएनन् । रत्नपार्क संरक्षणपछि यौनकर्मीहरु सलबल केही समयका लागि मात्र सेलायो ।

रंगीन बजार



रत्नपार्कको पेटी अर्थात् फूटपाथले लगभग ५० जनाको परिवार पालेको छ । नाङ्लो पसलदेखि सेकुवाको व्पापार समेत हुन्छ त्यहाँ । साँझ ५ बजेपछि फूटपाथको बजारले उग्र रुप लिन्छ । खुट्टा टेक्न पनि मुश्किल हुने गरी त्यहाँ बजार गर्माउँछ । कोही हातमा एयरफोन तथा सेल्फी स्टिक बोकेर बेच्दै हिँडेका देखिन्छन् भने केही सेकेण्डह्याण्ड लुगा । जब ८ बज्छ, व्यापारीहरु छरिएका सामानहरु सगाल्न व्यस्त हुन्छन् । अनि बाटो लाग्छन् ।

त्यसपछि रत्नपार्कमा अर्कै बजारको सुरु हुन्छ । रंगीन बजार । रत्नपार्कको भित्तामा यौनकर्मीहरु यसरी उभिन्छन् कि मानौं उनीहरु फेन्सी पसलमा सामान् हुन् । मोलमोलाई गर्छन् । उनीहरु शरीर बेचर शरीर पाल्न बाध्य छन् ।

यौनकर्मीको सिन्डिकेट

लगभग दुई घण्टाको बसाईमा हामीले त्यहाँ यौनकर्मीहरुको सिन्डिकेट भएको पायौं । वीर अस्पताल पारीपट्टी अर्थात् बसपार्कको छेउमा यौनकर्मी एक नेताको रजाइँ चल्छ । त्यहाँ उनलाई १८-२० जनाले नेता मान्छन् । त्यस ठाउँमा त्यही १८-२० जना बाहेक अरुले बार्गेनिङ गर्न पाउँदैनन् ।

‘यिनीहरु हिजोअस्ति थिएनन्, हाम्रो मान्छे होइन, ‘ एक यौनकर्मीले उनको नेतालाई सुनाइन् । त्यसपछि उनले खै के को ईशारा दिइन् । तेस्रो लिंगी लगायतका भिड जम्मा भयो । उनीहरुको समूहले हाम्रो आँखै अगाडी कुटाई खाए । नयाँ यौनकर्मीहरुको भागाभाग भयो ।

त्यस्तै पुलको अन्त्य तथा विद्युत प्राधिकरणको अपोजिट साइडमा अर्कै एक तेस्रो लिंगीको राज्य चल्छ । रातो हेल्मेटमा देखिएकी उनी त्यस एरियाको राजासहर हुन् । उनीहरुको पनि १५-२० जनाको समूह छ । उनीहरुले ग्राहकसँग आफ्नै एरियामा बार्गेनिङ गर्छन् । अन्त जाँदैनन् ।

दलाल

यदि तपाई केही समय रत्नपार्कमा उभिनुभयो भने तपाईलाई सुरुमा भर्खरका युवाहरुले घेर्छन् । ‘दाजु आज रमाइलो गर्न निस्किनुभएको हो ? हामीसँग भर्खर प्लस टू पढेका नयाँ नयाँ फ्रेस…छन् ।’ तपाईले उनीहरुको रेटबारे सोध्नैपर्दैन । हतारिएर उनीहरु नै भन्छन्, ‘सुरक्षित भएर मजा लिन पाइन्छ । पैसा २ हजारदेखि १० हजारसम्म पर्छ । हेरीहेरी छ ।’ उनीहरुले सिधै भर्खरका भनिने यौनकर्मीलाई केही रकम दिएर अरु आफैं राख्छन् । अर्थात् यौन दलाल । हामी ग्राहक भएर उनीहरुसँग केही कुरा गर्यौं ।

कहाँका बढी छन् र ?

‘सबैभन्दा बढी सिन्धुपाल्चोकका छन् । रामेछाप, सिन्धुलीदेखि तराईका पनि छन् । अझ मंगोलियनको संख्या हामीसँग बढी छ । बुझ्नु न उनीहरु कस्ता हुन्छन् ।’

किन भर्खरका केटीहरुको मोह छ यो क्षेत्रमा ?

पत्रकार जसरी नसोध्नु न ।

हामी मुसुमुसु हाँस्यौं मात्रै ।

काठमाडौंको फेसन, खानपिन र तडकभडकमा अरु रमाएको देख्छन् । त्यसका लागि उनीहरुसँग पर्याप्त पैसा हुन्न । अनि घरबाट मोटो रकम ल्याउने उनीहरुको हैसियत पनि हुन्न । अनि के गरुन् त विचराहरु ।

हामीले रत्तपार्क छेउछाउमा लगभग दुई घण्टा बितायौं । साँझ ८ देखि १० बजेसम्मलाई यौन बजारमा पिक आवर मानिन्छ । हामीले त्यही समयमा यौन बजारलाई नजिकबाट नियाल्ने प्रयास गर्‍यौं ।

लगभग बजारमा ५० जना यौनकर्मीहरु छन् । उनीहरु बिक्न भने गाह्रो रहेको पाइयो ।

त्यो दुई घण्टामा हामीले जम्माजम्मी ७ जनाले मात्र ग्राहक भेटेको देख्यौं ।

नम्बर १

वीर अस्पतालपट्टिबाट आएको एउटा निलो पल्सर रोकियो । भित्तामा रहेकी एक यौनकर्मीले अनुमान लगाइन् कि यो पक्कै हामीलाई खोज्न आएको हो । बारमा अडेस लाएर उनीहरुले कुरा गरे । खै कतिमा कुरा मिल्यौ । उनीहरु त्यही बाइकमा हुँइकिए ।

नम्बर २

चस्मा लगाएका, उमेरले ४ दशक नाघिसकेका एकजना भौंतारिएको धेरै भएको थियो । लगभग वरीपरिका ४-५ जनासँग उनले बार्गेनिङ गरे । कतै कुरा मिलेन ।

आफ्नै पारामा उभिएका हाम्रो माझ पनि वान पिसमा सजिएकी यौनकर्मीले उनलाई बोलाए । ती मानिस सरासर उनीगर्फ गए ।

‘जाने हो ?’

कतिमा ?

१८ सय ।

बढी भएन र ?

कति दिने ?

हजार दिन्छु ।

लगभग ९ : १३ मा उनले पनि ग्राहक भेटिन् ।

नम्बर ३

तेस्रो लिंगीलाई ग्राहकहरुले फरक दृष्टिकोणले हेरेको पायौं । उनीहरु अरुभन्दा केही सस्तोमा पनि शरीर बेच्न तयार हुने रहेछन् ।
हल्का पानी परिरहेको थियो । कलेजी छाता ओढर प्राधिकरणको अपोजिटमा उभिरहेकी थिइन् । उनलाई वरीवरी केटाहरुको समूहले लगातार हेरिरहेका थिए । जिस्काइरहेका थिए । तर, कमै मात्रले उनीसँग बार्गेनिङ गरे ।

कपाल लामो पालेका । हातमा चुरोट बलिरहेको थियो । लवाई सामान्य थिएन । सबै लुगा ठूला ।

उनले पनि ती यौनकर्मीसँग बार्गेनिङ गरे । हामीले अलि परबाट नियालेका कारण कतिमा उनी राजी भइन् त्यो थाहा पाउन सकेनौं ।

सरसर्ती हेर्दा रत्नपार्कमा सँधै एउटै यौनकर्मीहरुले अखडा बनाउने गरेका रहेछन् । उनीहरुका ग्राहक पनि दोहोरिरहने । सँधै एउटै हुलले उनीहरुलाई जिस्काउने । उनीहरुको व्यवसायलाई बेलाबेलामा प्रहरीले असर गर्ने र प्रायले जिस्काएर छाड्ने भएकाले उनीहरुलाई बिक्न हम्मेहम्मे नै छ ।
– प्रदिप अधिकारी / दैनिक नेपाल