काठमाडौं : मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को युवा संगठनले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशकारलाई मोसो दलेको छ।
नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंशकारलाई कार्यकक्षमै पुगेर शुक्रबार मोसो दलका हुन्।
शुक्रबार अपरान्ह ४ बजे कार्यकक्षमै पुगेर युवा लिगका सदस्यले कंशकारलाई मोसो दलेको केन्द्रीय सदस्य हरिकृष्ण गजुरेलले जानकारी दिए।
क्रान्तिकारी माओवादी निकट युवा लिग नेपालका सदस्यले भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत कंशकारलाई मोसो दलेको गजुरेलको भनाइ छ।
‘क्रान्तिकारी माओवादीले दलाल, तस्कर र भ्रष्टारविरुद्धमा देशभर अभियान चालेको छ’, गजुरेलले भने, ‘यही अभियान अन्तर्गत कंशकारलाई मोसो दलिएको हो।’