लमही, १८ पुस । अहिले पनि समाजमा छोरीले आमा बाबाको मृत्यू हुँदा किरिया बस्नु हुँदैन् भन्ने सामाजिक मान्यतालाई तोड्दै दाङमा दुई छोरी आफ्नी आमाको किरिया गरिरहेका छन् ।दाङ तुलसीपुर उपमहानगरपालिका–११ जसपुर निवासी ४० वर्षीया आमा तारा वि.कको निधनपछि मृतककी दुई छोरी १८ वर्षीया आराधना र ११ वर्षीया सदीक्षाले आमाको काजकिरियामा बसेकी हुन । छोराले मात्रै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै तीन छोरीमध्ये जेठी र माइली छोरी किरियामा बसेका हुन् । आमा वि.कको १५ गते सोमबार निधन भएको र किरिया गर्ने कोही नभएपछि छोरीहरूले नै दागबत्ती दिएका हुन, किरिया पनि छोरीहरूले नै गरेका छन् ।
आमा ताराको मङ्गलबार शीतलपुर घाटमा अन्त्येष्टि गरिएको हो । श्रीमान् हिरालाल विदेशबाट घर फर्केको १० दिनपछि ताराको निधन भएको हो । दमका कारण उनको मृत्यु भएको हो । समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिँदै आफूहरू किरिया बसेको आरधनाले बताए । ‘छोरासरहको कर्म बुबाआमाले हामी छोरीलाई पनि दिनुभएको छ’, उने भने ‘त्यसैले छोराहरूले गर्न सक्ने काम हामीहरू पनि गर्न सक्छौ भन्ने लागेर किरिया बसेका हौँ ।’
समाजले काजकिरियाका लागि घरभन्दा बाहिरका दाजुभाइलाई ल्याउने तयारी गरेको भए पनि आफ्नो आमाको किरिया छोरीले नै गर्नुपर्छ भनेर किरिया बसेको उनले बताए । किरिया गर्दा कपाल खौरनेबाहेक अरु सबै गर्दै गरेको हो । समाजमा भने अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ ।