कर्मचारीमाथि दुर्व्यवहार अस्वीकार्य, विधिको शासनबाट पछि हट्दैनौं : अध्यक्ष श्रेष्ठ

  • प्रकाशित मिति: मंगलबार, असार १६ २०८३
  • तामाकोशी

रामेछाप। खाँडादेवी गाउँपालिकाले कर्मचारीमाथि भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै विधिको शासन र सुशासनप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।
गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा असार ९ गते सम्पन्न गाउँसभा समग्रमा सफलतापूर्वक सम्पन्न भए पनि केही योजनाको भुक्तानीको विषयलाई लिएर उत्पन्न विवादका क्रममा कर्मचारीमाथि भएको दुर्व्यवहार दुःखद, निन्दनीय र अस्वीकार्य रहेको उल्लेख गरिएको छ।
विज्ञप्तिअनुसार सम्पन्न योजनाको भुक्तानीलाई लिएर प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीमाथि तत्काल भुक्तानी गर्न दबाब सिर्जना गर्ने प्रयास भएको थियो। त्यसक्रममा असार ११ गते वडा नं. ६ अन्तर्गतको एक योजनाको भुक्तानी विवादले उग्र रूप लिँदा बजार क्षेत्रमा कर्मचारीमाथि हातपात भएको घटना भएको जनाइएको छ।
गाउँपालिकाले प्राविधिक प्रतिवेदन, कार्यसम्पादन र प्रचलित कानुनका आधारमा मात्र भुक्तानी हुने व्यवस्था भएकाले कर्मचारीले कानुनी जिम्मेवारीअनुसार काम गरेको स्पष्ट पारेको छ। कर्मचारीमाथि धम्की, अपशब्द र हातपातजस्ता गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।
घटनापछि पीडित कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाबीच पटक–पटक छलफल गरी समाधानको प्रयास गरिएको र असार १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकले घटनाको निन्दा गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्षलाई कानुन, मर्यादा र संस्थागत अनुशासन पालना गर्न आग्रह गरेको छ।
अध्यक्ष ज्ञानकुमार श्रेष्ठले घटनामा संलग्न पक्षले आफ्नो गल्ती स्वीकार गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेपछि आपसी समझदारी र मेलमिलापका आधारमा विवाद समाधानतर्फ अघि बढाइएको बताएका छन्। पीडित कर्मचारीले पनि थप कानुनी कारबाही वा क्षतिपूर्तिको दाबी नगर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै अध्यक्ष श्रेष्ठले खाँडादेवी गाउँपालिका विधिको शासन, सुशासन र सुरक्षित कार्य वातावरणप्रति पूर्ण प्रतिबद्ध रहेको दोहोर्याउँदै विकास आयोजनाको भुक्तानी कानुनी प्रक्रिया पूरा भएपछि मात्र गरिने स्पष्ट पारेका छन्। उनले उपभोक्ता समिति, निर्माण व्यवसायी तथा सरोकारवालालाई आवश्यक कागजात पूरा गरी कानुनी प्रक्रियाअनुसार भुक्तानीका लागि पेश हुन आग्रह गरेका छन्।
विज्ञप्तिको अन्त्यमा अध्यक्ष श्रेष्ठले शान्ति, संयम, आपसी सम्मान र संवाद नै दिगो समाधानको आधार भएको उल्लेख गर्दै सम्पूर्ण खाँडादेवीवासीलाई सामाजिक सद्भाव कायम राख्दै गाउँपालिकाको विकास र सुशासन अभियानमा सहकार्य गर्न अपिल गरेका छन्।