लिखुमा हाइड्रोपावरको दादागिरी; जनप्रतिनिधिमाथिनै अभद्र व्यवहार

  • प्रकाशित मिति: बुधबार, असार १० २०८३
  • तामाकोशी

रामेछाप, लिखु तामाकोशी गाउँपालिकाले विकास निर्माणको क्रममा हाइड्रोपावर कम्पनीका प्रतिनिधिबाट भएको भनिएको हस्तक्षेप र जनप्रतिनिधिमाथिको अमर्यादित व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।
गाउँपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार सडक बोर्ड नेपाल र गाउँपालिकाको साझेदारीमा सञ्चालन भइरहेको धारापानी–सिरिसे सडक मर्मत योजनाअन्तर्गत वडा नं. २ मा निर्माणाधीन नाला निर्माण कार्य चलिरहेका बेला हाइड्रोपावर कम्पनीका प्रतिनिधिहरूले काम रोक्न दबाब दिएको आरोप लगाइएको छ।
विज्ञप्तिमा निर्माण कार्यमा संलग्न उपभोक्ता समितिलाई मात्र नभई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयारीमा सहभागी हुन गइरहेका जनप्रतिनिधिहरूलाई समेत बाटोमै रोकी अवरोध गरिएको उल्लेख छ। वडा अध्यक्ष सन्तोष पौडेलसहितका जनप्रतिनिधिमाथि अभद्र तथा अमर्यादित व्यवहार गरिएको भन्दै गाउँपालिकाले उक्त घटनाको भर्त्सना गरेको छ।
गाउँपालिकाले स्थानीय सरकारलाई संविधान र कानुनले दिएको अधिकार क्षेत्रभित्र रहेर सार्वजनिक सडकको संरक्षण, सञ्चालन र व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै विकास निर्माणका काममा अवरोध पुर्‍याउने गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको छ।
साथै हाइड्रोपावर आयोजनाको निर्माणका क्रममा सार्वजनिक सडक र आवागमनमा असर परेको विषयप्रति समेत ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित आयोजना प्रमुख तथा जिम्मेवार कर्मचारीमाथि छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।
गाउँपालिकाले विवाद भए कानुनी र संस्थागत माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै विकास निर्माणका काम रोक्ने र निर्वाचित जनप्रतिनिधिमाथि अमर्यादित व्यवहार गर्ने प्रवृत्तिले स्थानीय विकास र सुशासनमा नकारात्मक असर पार्ने जनाएको छ।

 



 

घटनाको निष्पक्ष छानबिन र उचित समाधान नभए स्थानीय तहमा उत्पन्न हुन सक्ने असन्तुष्टि तथा त्यसबाट सिर्जना हुने सम्भावित परिस्थितिको जिम्मेवारी सम्बन्धित हाइड्रोपावर कम्पनीले नै वहन गर्नुपर्ने चेतावनी समेत गाउँपालिकाले दिएको छ।