रामेछाप । गोकुलगंगा गाउँपालिकाले केन्द्र सरकारले लागू गरेको शनिबार–आइतबार बिदाको निर्णय नमान्दै गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्था २०८३/०१/१६ गतेदेखि साबिक बमोजिम सञ्चालन गर्ने जनाएको छ।
पालिकाले जारी गरेको सूचनामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूको वार्षिक पाठ्यघण्टा नपुग्ने, शैक्षिक गुणस्तरमा असर पर्ने, दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित हुने तथा जनसेवा प्रवाहमा ढिलाइ हुने कारण देखाइएको छ।
त्यस्तै, स्थानीय भौगोलिक अवस्था अनुसार यहाँ इन्धन खपत कम हुने भएकाले दुई दिन बिदाको औचित्य कमजोर रहेको पनि पालिकाको भनाइ छ।
निर्णयअनुसार आइतबारदेखि बिहीबार बिहान १० देखि बेलुका ५ बजेसम्म तथा शुक्रबार बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय सञ्चालन हुनेछन्।