निर्णय गर्न हतार नगर्न सचिवहरूलाई स्वर्णिम वाग्लेको आग्रह

  • प्रकाशित मिति: सोमबार, फाल्गुन २५ २०८२
  • तामाकोशी

काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले विभिन्न मन्त्रालयका सचिवहरूलाई दूरगामी प्रभाव पर्ने निर्णयहरू गर्न हतार नगर्न आग्रह गरेका छन्।

सिंहदरबारस्थित स्रोतका अनुसार निर्वाचन परिणाम सार्वजनिक हुने क्रम जारी रहेका बेला उनले मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवहरूलाई टेलिफोन सम्पर्क गरी दीर्घकालीन महत्त्वका निर्णयहरू तत्काल नगर्न सुझाव दिएका हुन्। स्रोतका अनुसार डा. वाग्लेले आफ्नो पार्टी रास्वपा बलियो शक्तिका रूपमा उदाएको र आगामी दिनमा सरकार गठनको सम्भावना रहेको उल्लेख गर्दै नयाँ सरकार गठन नभएसम्म महत्त्वपूर्ण निर्णयहरू नगर्न आग्रह गरेका बताएका छन्।



यस विषयमा मुख्य सचिवले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराइसकेको स्रोतको भनाइ छ। सरकारमाथि अनावश्यक दबाब सिर्जना हुनु उपयुक्त नहुने धारणा पनि व्यक्त गरिएको बताइएको छ।उता, रास्वपा सभापति रवि लामिछानेले भने सरकार आफ्नो कार्यकालको अन्तिम दिनसम्म पनि जिम्मेवारीपूर्वक काम गर्नुपर्ने धारणा राख्दै आएका छन्। नख्खु कारागारबाट छुटेपछि प्रधानमन्त्री कार्कीसँगको भेटमा उनले सरकारलाई पूर्ण अधिकारसहित काम गर्नुपर्ने बताएका थिए।

निर्वाचन परिणाम आउँदै गर्दा सम्भावित सरकार गठनका विषयमा विभिन्न राजनीतिक दलबीच छलफल र गतिविधि बढिरहेका छन्।