प्रेस चौतारी रामेछाप विशेष पत्रकारिता पुरस्कार नवराज श्रेष्ठलाई

  • प्रकाशित मिति: शनिबार, माघ २४ २०८२
  • तामाकोशी

रामेछाप, माघ २४ । प्रेस चौतारी नेपाल, बागमती प्रदेश समितिका सचिव तथा पत्रकार नवराज श्रेष्ठ ‘प्रेस चौतारी रामेछाप विशेष पत्रकारिता पुरस्कार–२०८२’बाट सम्मानित हुनुभएको छ।
प्रेस चौतारी नेपालको २८औँ स्थापना दिवसका अवसरमा शनिबार जिल्लाको सदरमुकाम मन्थलीमा आयोजित कार्यक्रममा लामो समयदेखि पत्रकारितामार्फत पुर्‍याउनुभएको योगदानको कदर गर्दै श्रेष्ठलाई प्रमाणपत्र र नगदसहित सम्मान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ रहनुभएको थियो भने विशेष अतिथिका रूपमा प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामा सहभागी हुनुभएको थियो। यस्तै, अतिथिमा नेकपा एमाले रामेछाप जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
वक्ताहरूले पत्रकारितामार्फत समाजमा सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा श्रेष्ठले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए।
श्रेष्ठ विगत लामो समयदेखि रामेछाप जिल्लाका विभिन्न सञ्चारगृहमा सक्रिय पत्रकारितामा संलग्न रहँदै आउनुभएको छ। उहाँ हाल रेडियो इनर्जीमा समाचार प्रमुखका रूपमा कार्यरत हुनुका साथै कान्तिपुर टेलिभिजनका लागि स्ट्रिङ्गरका रूपमा समेत काम गर्दै आउनुभएको छ।