रास्वपाले भ्रामक प्रचारको खण्डन गर्दै विज्ञप्ति जारी

  • प्रकाशित मिति: सोमबार, माघ १९ २०८२
  • तामाकोशी

रामेछाप । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप जिल्ला समितिले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भनी फैलाइएका आरोपको खण्डन गर्दै विज्ञप्ति जारी गरेको छ।
पार्टीले खाँडादेवी गाउँपालिका–३ लाप्कामा खानेपानीसम्बन्धी विषयमा भएको छलफललाई लिएर गलत प्रचार गरिएको जनाएको छ। स्थानीयले व्यक्तिगत रूपमा रकम संकलन गरी जडान गरेको खानेपानी पाइपलाई पार्टी उम्मेदवारले वितरण गरेको भन्ने प्रचार तथ्यहीन भएको रास्वपाको दाबी छ।
विज्ञप्तिमा भनिएको छ, “यस किसिमको भ्रम सिर्जना र अतिरञ्जनाले निर्वाचनको स्वच्छ वातावरण बिगार्ने प्रयास भएको छ।” पार्टीले आफू र आफ्ना उम्मेदवार कुनै पनि प्रकारको आचारसंहिता विपरीत कार्यमा संलग्न नभएको स्पष्ट पारेको छ।
रास्वपाले मतदातालाई भ्रममा पार्ने प्रयास नगर्न आग्रह गर्दै तथ्य र जिम्मेवारीका आधारमा राजनीतिक प्रतिस्पर्धा गर्न सबै पक्षलाई आह्वान गरेको छ।