अहिलेको प्राथमिकता संविधान र संसद् बचाउनु हो : नेता कमल चौलागाईँ

  • प्रकाशित मिति: बुधबार, कार्तिक २६ २०८२
  • तामाकोशी

रामेछाप । नेकपा एमालेका पोलितब्यूरो सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज कमल प्रसाद चौलागाइँले हाल एमालेको प्रमुख एजेन्डा संसद् पुनः स्थापना रहेको बताएका छन् । बुधवार मन्थलीमा कार्तिक २९ गते हुने एमालेको जनप्रदर्शन कार्यक्रम तयारी बैठकमा बोल्दै उनले संविधानलाई पुनः सही बाटोमा ल्याउन संसद् पुनः स्थापनाको विकल्प नभएको बताए ।

उनका अनुसार लामो त्याग, तपस्या र बलिदानी बाट प्राप्त नेपालको संविधानलाई पङ्गु बनाएर वर्तमान सरकार गैर संवैधानिक रूपमा बनेको हो । चौलागाईँले भने, “संविधानको रक्षा र देशलाई सही ट्र्याकमा फर्काउन संसद् पुनः स्थापना नै एक मात्र बाटो हो।”



उनले देशमा देखिएको राजनीतिक सङ्कट षड्यन्त्रपूर्ण रहेको उल्लेख गर्दै एमालेले सुझबुझका साथ जनतामुखी गतिविधि अघि बढाइरहेको बताए । “एमाले जनताको पार्टी हो, निर्वाचनबाट कहिल्यै भाग्दैन,” चौलागाईँले भने, “तर अहिले राज्य स्वयंले जनता र नेताको सुरक्षा गर्न नसक्ने अवस्थामा निर्वाचन हुन सक्ने अवस्था छैन।”

त्यसै गरी, उनले हाल जेनजी पुस्ताले राखेका सबै माग जायज नहुने टिप्पणी गर्दै न्यायालयमाथि समेत धम्कीपूर्ण व्यवहार भइरहेको आरोप लगाए । “संसद् विघटन गैर संवैधानिक रहेको न्यायालयलाई पूर्ण जानकारी भए पनि न्यायालयमाथि दबाब दिने काम भइरहेको छ,” उनले भने ।

बैठकमा एमाले केन्द्रीय सदस्य गीता कार्कीले संसद् पुनः स्थापनाको मागलाई सशक्त रूपमा अघि बढाउन पार्टीले सडक आन्दोलनलाई थप तीव्र बनाउने बताइन् । उनले वडा तहदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ताहरूलाई आन्दोलनमा सक्रिय रूपमा जोडिन आह्वान गर्दै पार्टीभित्र सङ्गठनात्मक एकता र जनसम्पर्क विस्तारमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

उनका अनुसार पछिल्ला समयमा नेकपा एमालेमाथि योजनाबद्ध रूपमा साइबर आक्रमण भइरहेको छ । उनले भनिन्, “एमालेले सामाजिक सञ्जालको प्रभावकारी र सही प्रयोग गर्न नसक्दा विरोधी शक्तिहरूले भ्रम फैलाउने काम गरिरहेका छन्, त्यसलाई रोक्न हरेक कार्यकर्ता सचेत हुनुपर्छ।”