काठमाडोैं । रोल्वालिङ हिमश्रृंखलाअन्तर्गतको यलुङ रि हिमालमा आएको भीषण हिम पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या सात जना पुगेको छ । आठ जना अझै बेपत्ता छन्। चार जना घाइते भएका छन्।
मृत्यु हुनेमध्ये पाँच जना विदेशी र दुई जना नेपाली रहेका छन्। मृत्यु भएका विदेशीमध्ये तीन जना अमेरिकी, एक जना क्यानडाली र एक जना इटालियन नागरिक रहेको प्रहरीले पुष्टि गरेको छ। ५ हजार ६ सय ३० मिटर अग्लो यलुङ रि हिमाल आरोहणका लागि सोमबार बिहान पाँच विदेशी र १० जना नेपाली पथप्रदर्शकको टोली त्यसतर्फ गएको थियो। बिहान करिब ८ः३० बजे आरोहणमा सहभागी सबैलाई हिम पहिरोले पुरेको प्रहरीले जनाएको छ।
घाइते अवस्थामा बचेकाहरूले ना गाउँमा रहेका आफ्ना साथीहरूलाई उद्धारका लागि खबर गरे पनि उद्धार ढिलो हुनुले मानवीय क्षति बढेको बताइएको छ। आरोहण टोली यसअघि ६ हजार ३ सय ३४ मिटर उचाइको डोल्मा खाङ हिमाल आरोहणका लागि तयारीमा थियो। त्यसअघि उनीहरूले तालिकाअनुसार यलुङ रि चढ्ने योजना बनाएका थिए। ना गाउँमा बास बसेर टोली यलुङ बेसक्याम्प पुगेको थियो।
हिम पहिरोपछि घाइतेहरूकै सूचनाका आधारमा लामा बगरबाट नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरी उद्धारका लागि खटिएका छन्। प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोका अनुसार हिम पहिरोमा परेको सूचना ढिलो आइपुगेको र हाल पनि ८ जना बेपत्ता आरोहीको अवस्था यकिन हुन बाँकी रहेको छ।