रामेछाप । ‘सेभेन समिट’ अभियानअन्तर्गत ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो हिमाल ‘कास्ट्रेन्स्ज पिरामिड’ (पुञ्जाक जाया) आरोहणका क्रममा नेपाली पर्वतारोही प्रकाशराज पाण्डे इन्डोनेसिया पुगेका छन्।
सोमबार काठमाडौँबाट मलेसिया हुँदै मंगलबार इन्डोनेसियाको राजधानी जकार्ता पुगेका पाण्डे मंगलबार राति १० बजे टिमिका प्रस्थान गर्दैछन्। बुधबार बिहान टिमिका पुगेर होटलमा बस्ने र आरोहण उपकरण जाँच गर्ने कार्यतालिका रहेको छ।
अगस्ट १४ मा हेलिकप्टरमार्फत ४ हजार ३ सय मिटर अग्लो ‘येलो भ्याली’ बेस क्याम्पमा पुग्ने, १५ मा पर्वत गाइडसँग तालिम तथा अनुकूलन गर्ने र १६ मा पूर्ण प्राविधिक आरोहणमार्फत ४ हजार ८ सय ८४ मिटरको कास्र्टेन्ज चुचुरो चढ्ने योजना छ। शिखर पुग्न ६–७ घण्टा र ओर्लन ५–६ घण्टा लाग्ने अनुमान गरिएको छ।
अगस्ट १७ मा हेलिकप्टरमार्फत टिमिका फर्किने र १८ मा बाली वा जकार्तामार्फत अर्को गन्तव्य वा नेपाल फर्कने तालिका तय गरिएको छ। तर पपुवा क्षेत्रमा मौसम प्रतिकूल भएमा यात्रा ३ दिनसम्म लम्बिन सक्ने आयोजकले जनाएका छन्।
कास्ट्रेन्स्ज पिरामिड पपुवा प्रान्तमा अवस्थित चुनढुङ्गाले बनेको पिरामिड आकारको हिमाल हो, जुन विश्वका सात महादेशका उच्च शिखरमध्ये एक हो र चुनौतीपूर्ण आरोहणका लागि परिचित छ। यो आरोहणपछि पाण्डे क्रमशः उत्तर अमेरिकाको माउन्ट डेनाली र अन्टार्टिकाको उच्च शिखर चढ्ने तयारीमा छन्। अन्ततः नेपाल फर्केर सगरमाथामा पुनः राष्ट्रिय झण्डा फहराउने उनको योजना छ।
अभियानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै बिदाइ गरेका थिए। रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ निवासी पाण्डेलाई विभिन्न पालिका, संघ–संस्था र व्यावसायिक प्रतिष्ठानले आर्थिक तथा सामग्री सहयोग गरेका छन्।
पाण्डेले यसअघि ‘सेभेन समिट’ अभियानअन्तर्गत युरोपको माउण्ट एलब्रस, अफ्रिकाको किलिमन्जारो र दक्षिण अमेरिकाको अकोन्कागुआ सफलतापूर्वक आरोहण गरिसकेका छन्। २०१६ देखि आरोहण सुरु गरेका उनले २०१८ मा विश्वको सर्वोच्च शिखर सगरमाथा चढेका थिए। हाल उनी जलवायु परिवर्तनका मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउँदै नेपाललाई पर्वतीय मुलुकका चुनौतीका बारे सचेत गराउँदै आएका छन्।