रोनाल्डोको कीर्तिमानी १३७औँ गोलः जर्मनीलाई हराउँदै पोर्चुगल फाइनलमा

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ २२ २०८२
  • तामाकोशी

क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले बुधबार म्युनिखमा सम्पन्न नेसन्स लिग सेमिफाइनलमा जर्मनीविरुद्ध २५ वर्षपछि ऐतिहासिक जित निकालेको छ ।

बुधबार राति सम्पन्न खेलमा पोर्चुगलले जर्मनीलाई २–१ ले हरायो । योसँगै पोर्चुगल फाइनलमा प्रवेश गर्‍यो । ४० वर्षीय रोनाल्डोले निर्णायक गोल गर्दै आफ्नो १३७औँ अन्तर्राष्ट्रिय गोल पूरा गरे । उनी जर्मनीविरुद्ध गोल गर्ने सबैभन्दा जेठा खेलाडी बनेका छन् । यसअघि उनले जर्मनीविरुद्ध खेलेका पाँचै खेलमा हार बेहोरेका थिए ।



पोर्चुगलले यसअघि जर्मनीको भूमिमा अन्तिमपटक सन् १९८५ मा जित निकालेको थियो, जुन वर्ष रोनाल्डोको जन्म भएको थियो । बुधबारको खेलमा जर्मनीले ४८औँ मिनेटमा फ्लोरियन विर्ट्जको हेडरमार्फत अग्रता लिएको थियो । तर, पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले फ्रान्सिस्को कन्सेसेओ र भिटिन्हालाई मैदानमा पठाएपछि खेलको गति बदलियो ।

कन्सेसेओले ६३औं मिनेटमा बराबरी गोल गरे भने पाँच मिनेटपछि नुनो मेन्डेसको क्रसमा रोनाल्डोले विजयी गोल गर्दै पोर्चुगललाई फाइनलमा पुर्‍याए । पोर्चुगलका लागि पीएसजीका जोआओ नेभेस र नुनो मेन्डेसले प्रभावशाली प्रदर्शन गरे । जर्मनीका डेब्यु खेलाडी निक वोल्टेमाडेले पहिलो हाफमा राम्रो मौका पाए पनि गोल गर्न सकेनन् ।

अब दोस्रो सेमिफाइनल बिहीबार फ्रान्स र स्पेनबीच स्टुटगार्टमा हुनेछ । जर्मनीले तेस्रो स्थानका लागि पराजित टोलीसँग खेल्नेछ ।