शिक्षा समाज र व्यक्तिको जीवनसँग जोडिनु पर्नेमा सभामुख घिमिरेको जोड

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १७ २०८१
  • तामाकोशी

रामेछाप । सभामुख देवराज घिमिरेले शिक्षा व्यवहारिक र जीवनोपयोगी हुनुपर्ने बताउनुभएको । शनिबार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको श्री मावि ज्यामिरेखानीको स्वर्णमहोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै घिमिरेले शिक्षाले समाज र व्यक्तिको जीवनमा सुधार ल्याउनु पर्ने बताउनुभयो । घिमिरेले नेपालको शिक्षा अहिले पनि व्यवहारोपयोगी हुन नसकेको बताउनुभयो । शिक्षा नेपाली जनताको प्रगतिको कारक बन्नु पर्ने उहाँको धारणा छ । घिमिरेले प्राविधिक र गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनुभयो। अहिले संघीय संसदमा विद्यालय शिक्षा सम्बन्धी विधेयक छलफलमा रहेको बताउँदै सो ऐनले परिवर्तित राजनीतिक सन्दर्भलाई समेट्ने उनले विश्वास व्यक्त गर्नुभयो ।
समाज परिवर्तनको पहिलो आधार शिक्षा भएको बताउँदै घिमिरेले स्थानीय विशेषताको आधारमा विकासका काम अघि बढाउनु पर्नेमा जोड दिनुभयो । विकासमा राजनीतिक दल र नेताहरूको भूमिका महत्पूर्ण हुने बताउँदै घिमिरेले त्यो भूमिका राजनीतिक दल र नेतृत्वबाट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा लिखु तामाकोसी गाउँपालिका अध्यक्ष केशव महतले समग्र गाउँपालिकाको स्थितिको बारेमा जानकारी गराउनुभएको थिए । सो गाउँपालिकाको विकास र समृद्धिमा सहयोगी भूमिका निर्वाह गरिदिन उहाँले सभामुखलाई अनुरोध गर्नुभयो । कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद न्यौपानेले समग्र वडाको शिक्षा, भौतिक पूर्वाधार लगायतको अवस्था बारे जानकारी गराउँदै शिक्षा गुणस्तर सुधारका लागि शिक्षकहरूले पाउने सेवा पनि सुधार हुनुपर्ने बताउनुभयो । उहाँले अहिले अति न्यून पारिश्रमिकमा बाल विकास केन्द्रका सहजकर्ताले काम गरिरहनु परेको प्रति सभामुखको ध्यानाकर्षण गराउनुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजबहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा सभामुख घिमिरेले विद्यालयको मुख पत्र पनि विमोचन गर्नुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री एवं नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौगालागाईँ, एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेल, वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठ, वाग्मती प्रदेशका पूर्वमन्त्री शान्तिप्रसाद पौडेल, नेकपा एमाले रामेछापका अध्यक्ष पुरुषोत्तम कडरिया, राजनीतिक दलका नेताहरू, जनप्रतिनिधि, शिक्षक, अभिभावक, पूर्वविद्यार्थी, विद्यार्थीहरू लगायतको सहभागिता रहको थियो ।