आदिवासी जनजातिले अहिलेसम्म प्राप्त गरेका अधिकार प्राप्तिका लागि एमालेको पहिलो भूमिका छ : पासाङ शेर्पा

  • प्रकाशित मिति: बुधबार, असार १३ २०८१
  • तामाकोशी

रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य एवं लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाले नेपालका आदिवासी जनजातिहरूले अहिलेसम्म प्राप्त गरेका अधिकारहरू प्राप्तिका लागि नेकपा एमालेको सबै भन्दा ठुलो भूमिका रहेको बताउनुभएको छ । रामेछाप सदरमुकाम मन्थलीमा बुधवार आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल जिल्ला कमिटी रामेछापको पूर्ण बैठक तथा नवनिर्वाचित पालिका कमिटीहरूलाई शपथ ग्रहण साथै प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालका अन्य राजनीतिक पार्टीहरूले जातिवादी मुद्दा उठाउँदै आएका भए पनि एमालेले भने सामाजिक न्यायका लागि मुद्दाहरू उठाउँदै आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो‘‘ यो देशमा आदिवासी जनजातिका लागि अहिलेसम्म प्राप्त भएका अधिकार प्राप्तिका लागि एमालेको सबै भन्दा ठुलो भूमिका छ । तर अहिले एमालेलाई पहिचान विरोधी भनेर गलत प्रचारहरू भइरहेका पनि छन् । जसले पहिचान दियो अहिले त्यसलाई पहिचान विरोधी भनेर गरिने गलत प्रचारलाई चिर्ने गरी लाग्नुपर्छ ।’’
उहाँले नेपालमा सबै क्षत्रमा समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था एमालेले ल्याएको दाबी गर्दै नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाउन पनि एमालेकै प्रमुख भूमिका रहेको बताउनुभयो । अहिले एमाले पार्टीमा आफ्ना जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने र पार्टीलाई आपत् पर्दा अगाडि लाग्ने पार्टीको पहिलो जनसङ्गठन लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल नै भएको उहाँको दाबी छ ।
लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले पटक पटक पार्टी कमजोर बन्दा पनि नेता कार्यकर्तालाई आत्मबल बढाउने खालका कामहरू गरेको उहाँले बताउनुभयो । अब पार्टी बनाउने जिम्मा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालमा आबद्ध हुने नेता कार्यकर्ता कै भएकाले आदिवासी जनजाति आन्दोलनको अभियन्ता र एमालेको सदस्य हौ भन्ने कुरालाई हेक्का राखेर अगाडी बढ्न उहाँले कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिनुभयो । अब २०८३ साल सम्म सबै वडा कमिटी र २०८४ साल सम्म टोल कमिटी गठन गर्ने लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालले लक्ष्य लिएकाले सोही अनुसार काम गर्न पनि उहाँले निर्देशन दिनुभयो ।