रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कनुन् मन्त्री गङ्गानारायण श्रेष्ठले संविधान अनुसार प्रदेश सरकारले प्रहरी परिचालन गर्ने अधिकार नपाएको गुनासो गर्नुभएको छ । सोमबार रामेछापको सुनापति गाउँपालिका– ४ स्थित इलाका प्रहरी कार्यालय बेथानको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
‘संविधानमा प्रस्ट रूपमा प्रदेशको शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकारलाई नै प्रदान गरे पनि प्रदेश सरकारले प्रहरी परिचालन गर्न पाएको छैन’, उहाँले भन्नुभयो । सङ्घीय सरकार विभिन्न बहानामा प्रदेको प्रहरी परिचालन गर्न पाउने अधिकार दिनबाट पछि हटिरहेको भए पनि ढिलो चाँडो प्रदेशले प्रहरी परिचालनको अधिकार पाउने उहाँको विश्वास छ । कार्यक्रममा मन्त्री श्रेष्ठले वाग्मती प्रदेश सरकाले नेपाल प्रहरीको भौतिक पूर्वाधार सँगै क्षमता विकास र प्रविधि विकासका लागि पनि काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘‘प्रदेश सकारले नेपाल प्रहरीको भौतिक पूर्वाधार सँगै क्षमता र प्रविधि विकासको पनि काम गरिरहेको छ । प्रदेश सरकारले अहिलेसम्म प्रहरी चौकी र इलाका प्रहरी कार्यालय गरी ५५ वटा नयाँ भवन निर्माण गरेर प्रहरीलाई हस्तान्तरण गरिसकेको छ ।’’ नेपाल प्रहरीले नेपाल भन्दा धेरै विकसित मूलकका प्रहरीले भन्दा राम्रो काम गरेर आफूलाई स्थापित गरिरहेको उहाँले बताउनुभयो । ‘ नेपाल प्रहरीले सरकारको सच्चा उत्तराधिकारीका रूपमा आफूलाई स्थापित गरेको छ, यो धेरै खुसीको कुरा हो, अब हामीले हाम्रो प्रहरीलाई नागरिक मैत्री सँग सँगै प्रविधिमैत्री पनि बनाउँदै लैजान आवश्यक छ, प्रहरीलाई प्रविधिमैत्री बनाउन वाग्मती प्रदेश सरकार प्रतिबद्ध छ’, उहाँले भन्नुभयो । नागरिक र प्रहरी भनेको एउटै सिक्काको दुई वटा पाटा भएको उहाँको भनाइ छ । प्रहरी पनि बर्दीवाला नागरिक भएकाले सबै नागरिकले कानुनको परिपालन गरेर प्रहरीलाई सघाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘‘प्रहरी भनेको राज्य पनि हो, त्यसैले राज्य नागरिकको अभिभावक हुन्छ । समाजमा अभिभावकको सबै भन्दा ठुलो भूमिका हुन्छ । त्यसैले नागरिक मैत्री समाज निर्माणमा प्रहरीको पहिलो भूमिका हुन्छ ।’’
नागरिकहरू वर्ग, समुदाय, लिङ्ग, क्षेत्रमा विभाजित हुने भएकाले न्याय सम्पादन गर्दा प्रहरीले यस्ता कुरालाई ख्याल राख्नुपर्ने उहाँको भनाइ छ । वाग्मती प्रदेश सरकारको तीन करोड ९० लाख ४६ हजार ५७४ रुपैयाँ बजेटमा इलाका प्रहरी कार्यालय बेथानको नयाँ भवन बनेको छ । दुई चरणमा निर्माण सम्पन्न भएको यो भवन २०७८ वैशाख १६ गते निर्माण सम्झौता भएको थियो । निर्माण सम्झौता भएको दुई वर्ष ६ महिनामा यो इलाका प्रहरी कार्यालयले नयाँ भवन पाएको हो । ३ रोपनी जग्गामा निर्मित साढे दुई तला भएको उक्त भवनमा हिरासत, भान्छा, कार्यालय कक्ष, गार्ड रुम, प्रमुख निवास, ब्यारेक, सञ्चार कक्ष, डाइनिङ हल सहित १६ वटा कोठाहरू छन्।