रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ३ मा दुई करोड ९८ रुपियाँ लागतमा विद्यालय भवन निर्माण भएको छ । युनाइटेड नेसन अफिस फर प्रोजेक्ट सपोर्टको सहयोगमा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला कार्यक्रम कार्यान्वयन इकाइ रामेछाप मार्फत सो विद्यालय भवन निर्माण भएको हो ।कालिका आधारभुत विद्यालयको सो भवन शौचालय र घेराबारासहित निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गरिएको जिल्ला कार्यक्रम कार्यान्वयन इकाइ रामेछापका प्रमुख निर्मल घिमिरेले बताउनुभयो । नयाँ भवनले विद्यालयको पढाइको गुणस्तर सुधारमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ प्रमुख घिमिरेले भन्नुभयो ।
सामुदायिक विद्यालय भौतिक रुपमा अब सम्पन्न भएकोले शिक्षाको गुणस्तर विकासमा लाग्नु पर्ने मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले बताउनुभयो । पढाइको गुणस्तर सुधार गर्न नसकेसम्म सामुदायिक विद्यालयमा विद्यार्थी ल्याउन सकिन्न, घर पायकका शिक्षक हुँदा पनि पढाइमा ध्यान नदिनु भने बिडम्बना हो नगरप्रमुख बस्नेतले भन्नुभयो ।निर्माण भएको विद्यालय भवनमा अपाङ्गमैत्री शौचालय, विद्यालय परिसरमा घेरावार, फर्निचर सौर्यउर्जा लगायत जडान गरिएको छ । भवन निर्माणको जिम्मा खानी निर्माण सेवाले पाएको थियो । दुई वटा नगरपालिका छ गाउँपालिकाको ६४ वटा वडा रहेको रामेछापमा १८ वटा संस्थागत र एउटा धार्मिक गरी तीन सय ९५ वटा विद्यालयहरु छन् ।
जिल्लाभर तीन सय ७६ वटा सामुदायिक विद्यालय रहेकोमा अहिलेसम्म भूकम्पले क्षति गरेका अधिकांस विद्यालयका भवन नयाँ बनीसकेको शिक्षा विकास तथा समन्वय इकाई रामेछापका प्राविधिक सहायक कुमार श्रेष्ठले बताउनुभयो ।
दुई करोड ९८ लाख रुपियाँ लागतमा बन्यो विद्यालय भवन
- प्रकाशित मिति: आइतबार, साउन १० २०७८
- तामाकोशी