रामेछाप । सुनकोसी–२ जलविद्युत आयोजनाको प्रभाव मूल्याङ्कन तयार गर्ने काम अघि बढाइने भएको छ । विद्युत विकास विभागले आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन गर्न सार्वजनिक सुनुवाई गर्ने सूचना सार्वजनिक गरेको छ । रामेछाप, सिन्धुली र काभ्रे जिल्लाको सीमाना भएर बग्ने सुनकोसी नदीमा निर्माण प्रस्ताव गरिएको ९ सय ७८ मेगावाट क्षमताको जलविद्युत आयोजनाको प्रस्ताव गरेको छ । रामेछापको रामेछाप नगरपालिका–५ र सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ को च्याकुटारमा ३ सय ९५ मिटर लामो र १ सय ६८ मिटर अग्लो बाँध निर्माण गरी जलाशययुक्त विद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरिएको छ । सो स्थानबाट १.२ किलोमिटर लामो र १० मिटर ब्यास भएको सुरुङ मार्ग बनाइ च्याकुटारमा बिद्युत गृह निर्माण गर्ने प्रस्ताव गरिएको छ । आयोजनाले पार्ने प्रभावको विषयमा नागरिकको सुझाव र प्रतिक्रिया लिनको लागि साउन १२ गतेदेखि १८ गतेसम्म काभ्रे, सिन्धुली र रामेछापका विभिन्न सात स्थानमा सार्वजनिक सुनुवाई राखिएको विद्युत विकास विभागले जनाएको छ । सो योजनाबाट काभ्रेको तेमाल गाउँपालिका–९ प्रभावित हुने छ । त्यस्तै सिन्धुलीको सुनकोसी गाउँपालिकाको १ देखि ७ नं वडासम्म प्रभावित हुने छ । सिन्धुलीकै गोलञ्जोर गाउँपालिकाको १,२,३, ६ र ७ नं वडा प्रभावित हुने बताइएको छ । रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका ५,७,८ र ९ मन्थली नगरपालिकाका १,२,३ र ४, खाँडादेवी गाउँपालिकाको १,२,३ र ४ तथा लिखुतामाकोसी गाउँपालिकाको ७ नं वडा प्रभावित हुने छन् । आयोजना निर्माण भएको अवस्थामा सिन्धुलीको मध्यपहाडी तथा बीपी मार्ग किनारका ग्वाल्टार, देउरालीटार, खुर्कोट, मुलकोट, रातमाटा, नेपालथोक लगायतका बजार डुब्ने छन् । त्यस्तै रामेछापको सदरमुकाम मन्थली लगायतको बजार क्षेत्र समेत डुबानमा पर्ने छ ।
सुनकोसी–२ जलविद्युत आयोजनाको प्रभाव मूल्याङ्कनका लागि सार्वजनिक सुनुवाई
- प्रकाशित मिति: शनिबार, साउन ९ २०७८
- तामाकोशी