रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा मङ्गलबार ट्याक्टरको ठक्करबाट घाइते भएका प्रहरी हबलदार नन्दलाल सरदारको मृत्यु भएको छ । घाइते प्रहरी हबलदार सरदारको नेपाल प्रहरी अस्पताल काठमाडौंमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । प्रहरी चौकी खिम्तीबाट खिम्ती बजार तर्फको राजमार्गमा मोटरसाइकलमा गस्ती गर्ने क्रममा नामाडीबाट मन्थली तर्फ आउदै गरेको ना ६ त २७७२ नम्बरको ट्याक्टरले मङ्गलबार साँझ ठक्कर दिँदा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३६ वर्षका प्रहरी हबलदार नन्दलाल सरदार र ४५ वर्षका प्रहरी नायव निरीक्षक जोखन बैठा घाइते हुनुभएको थियो । घाइते दुवै जनालाई मन्थली स्थित तामाकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपाल प्रहरी अस्पताल पठाइएको थियो । ट्याक्टरको ठक्करबाट घाइते प्रहरी हबलदार सरदारलाई बुधबार दिउँसो १ः४५ बजे अस्पताले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले जानकारी दिनुभयो । मृतक प्रहरी हबलदार सरदारको दाहिने तिघ्रा फ्याक्चर भएको अनुहार सुनिएको थियो भने उपचाररत प्रहरी नायव निरिक्षक बैठाको नाक, मुखमा चोट र दाहिने खुट्टाको घुँडा सुन्निएको थियो । अहिले ट्याक्टर चालक बर्ष २३ को राज खड्कालाई दोलखा जिल्लाको तामाकोशी गाउँपालिका वडा नं ५ बाट नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ
खिम्तीमा ट्याक्टरको ठक्करबाट घाइते भएका प्रहरी हबलदार सरदारको मृत्यु
- प्रकाशित मिति: बुधबार, बैशाख २२ २०७८
- तामाकोशी