रामेछाप । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले दोलखाको लामाबगर पुगेर सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ गर्नुभएको छ । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङको बीच भागमा राखिएको पेनस्टक पाइप जडानको काम सकिएपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न थालिएको हो । तामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठका अनुसार सुरुङको परीक्षण सफल भएपछि परीक्षण उत्पादन सुरु हुनेछ । पानी भर्न सुरु गर्ने र पानी भर्ने क्रममा कुनै जटिल समस्या नआएमा ७ देखि ९ दिनभित्र परीक्षण कार्य सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । चालु आर्थिक वर्षभित्रमा सम्पूणर् निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजनामा ७६/७६ मेगावाटका ६ वटा युनिटहरु रहेका छन् । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमशः विद्युत उत्पादन हुनेछ ।
