रामेछाप । पुस १९ गते,
रामेछाप जिल्लामा रहि वातावरण संरक्षणका क्षेत्रमा समाचार लेख्ने दुईजना पत्रकार सहित विभिन्न व्यक्ति तथा संस्थाहरु सम्मानित भएका छन् । जिल्लामा विग दुईवर्षदेखी वातावरण संरक्षणको क्षेत्रमा काम गरिरहेको वातावरण संरक्षण परियोजनाले वातावरण संरक्षण बारे समाचार सम्प्रेशन गर्ने गोरखापत्र रामेछापका रिपोर्टर नवराज श्रेष्ठ र कान्तिपुर टेलिभिजनका जिल्ला रिपोर्टर दिपक भट्ट , तीनवटा संस्था र सातजना व्यक्तिहरुलाई नगद सहित प्रशंसा पत्रले सम्मान गरेको हो । परियोजनाले सन २०२० मा वातावरण संरक्षणका क्षेत्र अन्तरगत फोहोर व्यवस्थापनमा योगदान गर्ने रामेछाप सहयोगी मन (रासम) , सिद्धेश्वर बालक्लव सालु र सामुदायिक वन जोगाउन योगदान गर्ने सानिमदौ सामुदायिक वनलाई नगद सात हजार रुपैयाँ सहित प्रशंसा पत्रले सम्मान गरेको छ । परियोजना मार्फत सन २०२० मा सञ्चालन भएको कार्यक्रमको समिक्षा तथा आगामी कार्यक्रमका लागि सुझाव सङ्कलन गर्न आइतबार मन्थलीमा आयोजना गरेको कार्यक्रममा पत्रकार नवराज श्रेष्ठ, दिपक भट्ट ,कृषिमा वनमा योगदान गर्ने कठजोरका रमेश कुमार अधिकारी, हात्तिटारका गणेश माझी,होम माझी,रुपा सुवेदी ,माछा पालनमा योगदान गर्ने लक्ष्मण श्रेष्ठ,खानेपानीको मुहान संरक्षणमा योगदान गर्ने राम नारायण श्रेष्ठलाई नगद पाँच हजार रुपैया सहित प्रशंसा पत्रले सम्मान गरेको हो । वातावरण संरक्षणका क्षेत्रमा योगदान गर्नेहरुलाई सम्मान गर्नुहुदै मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले परियोजनाले सञ्चालन गर्ने कार्यक्रमका बारेमा स्थानीय सरकारसङ्ग धेरै भन्दा धेरै समन्वय गरी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । परियोजनाले कुनै राजनितिक आग्रह पूर्वाग्रह नराखी काम गर्नुपर्ने बताउदै नगरप्रमुख बस्नेतले परियोजनाको कार्यक्रमबाट मिलेको उपलब्धीहरुको सबै मिलेर रक्षा गर्नुपर्ने बताउनुभयो । वातावरण संरक्षण परियोजनाका व्यवस्थापक मिलन कुमार घिसिङले मन्थली नगरपालिकाको वडा नं १ देखी ६ र रामेछाप नगरपालिकाको वडा नं ७,८र ९ मा सञ्चालन गरिरहेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सवैको सहयोग आवश्यक हुने बताउनुभयो । आफ्नो कार्यक्षेत्रमा परियोजनाले वातावरण संरक्षणका निमित्त विभिन्न कार्यक्रमसङ्गै यस सम्बन्धि सचेतना अभिवृद्धि गर्ने काम गरिरहको बताउनुभयो । कार्यक्रममा वातावरण संरक्षण परियोजनाका कार्यक्रम संयोजक दिपक चौलागाईले सन् २०२० मा परियोजना मार्फत सञ्चालन भएका कार्यक्रम र उपलब्धीका बारेमा जानकारी गराउनुभएको थियो ।
वातावरण संरक्षण परियोजनाद्धारा दुई पत्रकार सहित विभिन्न व्यक्ति र संस्था सम्मानित
- प्रकाशित मिति: आइतबार, पुष १९ २०७७
- तामाकोशी