रामेछाप । कात्तिक २६ गते,
रामछापमा दुईजना स्वास्थ्यकर्मी ,एकजना शिक्षक र एकजना कर्मचारी सहित थप आठ जनामा कोरोना भाइरस सङक्रमण भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वाथ्य अधिकृत भुवन थापाले मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत एकजना र हेल्थपोष्ट सुनारपानीमा कार्यरत एकजना महिला स्वास्थ्यकर्मी सहित मन्थली नगरपालिकाका आठ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयो । मंगलबार राति आएको स्वाब परीक्षण रिपोर्ट अनुसार मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ३८ वर्षका पुरुष ,मन्थली नगरपालिका वडा नं ५ को हेल्थ पोष्टमा कार्यरत ३७ वर्षकी महिला स्वास्थ्यकर्मी , उनको १२ वर्षका छोरा ,नेपाल बिद्युत प्रधिकरण रामेछापमा कार्यरत ५२ वर्षका पुरुष कर्मचारी ,मन्थली नगरपालिका वडा नं ७ का ५७ वर्षका पुरुष शिक्षक ,मन्थली नगरपालिका वडा न २ का ३० वर्षका पुरुष र मन्थली नगरपालिका वडा नं ५ का १३ र ६५ वर्षकी महिलालाई कोरोना सङ्क्रमण भएकोे छ । यो सङ्गै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । जिल्लाबाटै स्वाब पठाइएकामा हालसम्म १८७ जनामा कोरोना सङक्रमण भएकोमा १६१ जनाले कोरोनालाई जितेर डिस्चार्ज भैसकेका छन् । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ६७ जना र १४६ पुरुष गरि २१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोना नियन्त्रण, व्यवस्थापन र उपचारका लागि जिल्लामा ४९० शैय्याको क्वारेण्टाइन र १०८ शैय्याको आइसोलेशन निर्माण गरिएको जिल्ला स्तरीय सङ्कट व्यवस्थापन केन्द्र रामेछापले जनाएको छ ।
रामेछापका थप आठ जनामा कोरोना सङक्रमण,सक्रिय सङ्क्रमितको सङ्ख्या २६ पुग्यो
- प्रकाशित मिति: बुधबार, कार्तिक २६ २०७७
- तामाकोशी