काठमान्डौं । दसैं सकिएलगत्तै बजारभाउ पुनः अकासिएको छ । दसैंको मुखमा अकासिएको बजार तिहारको चहलपहलसँगै फेरि बढ्न थालेको छ ।
चिनी, तेल, केराउ, दाललगायत खाद्यान्नको भाउ अत्यधिक बढेको खुद्रा व्यापार संघको तथ्यांक छ । संघका अनुसार डेढ सातामा खाद्यको भाउ किलोमै २० रुपैयाँसम्म वृद्धि भएको छ । ‘दसैंलगत्तै मूल्य बढ्नुपर्ने अवस्था नभए पनि बजारभाउ चुलिएको छ,’ संघका अध्यक्ष राजकुमार श्रेष्ठले भने, ‘मौज्दात पर्याप्त छ, मूल्य बढेका विषयमा होलसेल र आयातकर्ताले स्पष्ट जवाफ दिँदैनन् । चलखेलकै लागि यसो गरिएको हुन सक्छ ।’ डेढ साताअघि हरियो केराउको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो । अहिले होलसेलमै खरिद मूल्य १ सय २० रुपैयाँ पुगेको छ ।
‘ढुवानी, प्लास्टिकसहित उपभोक्तालाई १ सय ३५ रुपैयाँमा बिक्री गर्न बाध्य भएका छौं,’ उनले भने । उनका अनुसार महिनामा ५० किलो बिक्री गर्ने साना खुद्रा व्यापारीले किलोमा १५ रुपैयाँ नाफा राख्दा पनि लगानी उठ्दैन । व्यवसायीले केराउ न्युजिल्यान्ड, क्यानडा, अस्ट्रेलियालगायत मुलुकबाट ल्याउँछन् । नेपालका लागि आयात गरिएको केराउ पुनः भारत पठाउने गरिएको छ । जसले गर्दा यहाँ महँगो भएको अध्यक्ष श्रेष्ठको दाबी छ । ‘नेपालको तुलनामा भारतमा पठाउँदा दोब्बर फाइदा छ, केराउ पुनः भारत गएको छ,’ उनले भने, ‘भारत गएपछि यहाँ महँगियो ।’ केराउजस्तै खाने तेल पनि भारत तस्करी भइरहेको छ । स्वदेशमा पर्याप्त उत्पादन नहुँदा तेल पनि आयातमै निर्भर हुनपर्ने बाध्यता छ । उद्योगीहरूले कच्चा पदार्थ आयात गर्छन् । त्यसपछि यहाँ रिफाइन गरेर पुनः भारत पठाउने गरेका छन् । आयातित तेल भारत गएपछि यहाँ मूल्यवृद्धि भएको व्यवसायी बताउँछन् ।
‘खाने तेल भारत पठाएकै कारण दसैंअगाडि प्रतिलिटर १० रुपैयाँ बढेको थियो । अहिले पुनः १५ रुपैयाँ बढाएका छन्,’ टोखा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जय फुयाँलले भने, ‘त्यो पनि बजारमा अभाव देखिन्छ ।’ होलसेल व्यवसायीसमेत रहेका उनले उद्योगीहरूले महँगोमा बिक्री गर्न भारत पठााएको दाबी गरे । सिंगापुर र मलेसियाबाट पनि कच्चा तेल आउँछ ।
संघका अनुसार दसैंअगाडि भटमासको तेल १५० देखि १ सय ५५ रुपैयाँमा बिक्री हुन्थ्यो । अहिले खुद्रा व्यापारीले १ सय ६३ रुपैयाँमा किन्छन् । त्यसपछि सर्वसाधारणलाई प्रतिलिटर १ सय ७० रुपैयाँमा बिक्री गर्ने गरिएको छ । लिटरको १ सय ७० देखि १ सय ७५ रुपैयाँ पर्ने सनफ्वारको मूल्य बढेर १ सय ८० देखि १ सय ८५ रुपैयाँ, तोरीको तेलमा पनि बढेर २ सय ६० रुपैयाँसम्म पुगेको अध्यक्ष श्रेष्ठले जनाए । ‘तोरीको तेल प्रतिलिटर २ सय ३० रुपैयाँदेखि २ सय ४० रुपैयाँमा बिक्री गरेका थियौं,’ उनले भने, ‘अहिले २ सय ६० पर्छ । होलसेल आयातकर्ता र उद्योगी एकअर्कोलाई देखाएर पन्छिएका छन् ।’ बजारभाउ अकासिएको सन्दर्भमा नियमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई जानकारी गराइएको संघले जनाएको छ । तर वाणिज्यले बुझ्छौं भनेर टार्दै आएको खुद्रा व्यवसायी गुनासो गर्छन् ।
दालको भाउ पनि किलोमै २० रुपैयाँसम्म बढेको संघले जनाएको छ । डेढ साताअघि मासको दाल प्रतिकिलो १ सय ५५ रुपैयाँदेखि १ सय ६० रुपैयाँमा बिक्री भएको थियो । अहिले बढेर १ सय ७० रुपैयाँ पुगेको छ । मुसुरोको दाल १ सय ४० देखि १ सय ४५ रुपैयाँसम्म थियो । अहिले किलोमै १ सय ५५ रुपैयाँ पुगेको छ । किलोको १ सय २० रुपैयाँदेखि ३० रुपैयाँ पर्ने बोडी अहिले बढेर १ सय ५० रुपैयाँ पुगेको संघले जनाएको कान्तिपुर दैनिकमा खबर छ ।