रामेछाप । कात्तिक २२ गते,
रामेछापका थप दुई जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १८ पुगेको छ । जिल्लामा स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले कार्तिक १९ गते स्वाब पठाइएका सुनापति गाउँपालिकाका आठ जनामध्ये दुई जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार सुनापति गाउँपालिका वडा नं ५ का ४५ बर्षका पुरुष र २५ बर्षकी महिलामा शनिबार कोरोना पोजेटिभ देखिएको हो । यो संगै जिल्लामै स्वाब संकलन गरि पठाइएका १७९ जनामा कोरोना संक्रमण भएको छ । हालसम्म १६१ जना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापका अनुसार हाल मन्थली नगरपालिकामा दशजना , जिल्ला अस्पतालमा एकजना , रामेछाप नगरपालिकामा पाँचजना र सुनापति गाउँपालिकामा दुईजना गरि १८ जना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा दुईहजार २९० जनाको स्वाब परीक्षण गरिएको छ । यसमध्ये दुईहजार एकसय ११ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार अहिलेसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ६४ जना र १४४ पुरुष गरि २०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
रामेछापका थप दुई जनामा कोरोना सङ्क्रमण,सक्रिय सङ्क्रमितको सङ्ख्या १८ पुग्यो
- प्रकाशित मिति: शनिबार, कार्तिक २२ २०७७
- तामाकोशी