रामेछाप । कात्तिक २० गते,
रामेछापका थप पाँच जनामा कोरोना भाइरस कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले कार्तिक १७ गते स्वाब पठाइएका रामेछाप नगरपालिकाका १२ जनामध्ये पाँच जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार रामेछाप नगरपालिकाकी २० ,२६,२७,८६ वर्षकी महिला र २४ वर्षका एकजना पुरुषमा वीहिबार कोरोना पोजेटिभ देखिएको हो । यो संगै जिल्लामै स्वाब संकलन गरि पठाइएकामा कोरोना संक्रमण हुनेको संख्या १७७ पुगेको छ । हालसम्म १६१ जना सङ्क्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापका अनुसार हाल मन्थली नगरपालिकामा दशजना , जिल्ला अस्पतालमा एकजना र रामेछाप नगरपालिकामा पाँचजना गरि १६ जना सङ्क्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा दुईहजार २९० जनाको स्वाब संकलन गरिएको छ । यसमध्ये दुईहजार एकसय पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । अझै सुनापति गाउँपालिकाका आठ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार अहिलेसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ६२ जना र १४४ पुरुष गरि २०६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
रामेछापका थप पाँच जनामा कोरोना सङ्क्रमण
- प्रकाशित मिति: बिहिबार, कार्तिक २० २०७७
- तामाकोशी