रामेछाप । कार्तिक १९ गते,
रामेछापको मन्थली नगरपालिकाले ११ कक्षाको परीक्षा सुरु गरेको छ । नगरपालिकाले राष्ट्रिय परीक्षा वोर्डको निर्देशिका अनुसार नगरभित्रका सात वटा माध्यामिक विद्यालयमा बुधबारबाट परीक्षा सुरु गरेको हो । सबै भन्दा बढी विद्यार्थी रहेको सदरमुकाम मन्थलीमा संचालित मन्थली माध्यामिक विद्यालय सहित नगरपालिका भित्रका सातवटै माविले राष्ट्रिय परीक्षा वोर्डको निर्देशिका पुर्ण कार्यान्वयन गरेर परीक्षा सुचारु गरेका हुन् । मन्थली माध्यामिक विद्यालय सहित सारदा माध्यामिक विद्यालय गेलु,भिमेश्वर माध्यामिक विद्यालय चिसापानी ,निलकण्ठेश्वर माध्यामिक विद्यालय कठजोर ,रुद्राक्षश्वर माध्यामिक विद्यालय मुगिटार लगायत नगरभित्रका सातवटै माध्यामिक विद्यालयहरुमा होम सेन्टरका रुपमा कक्षा ११ को परीक्षा सुरु गरेका छन् । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले नगरपालिकाभित्रका सबै माध्यामिक विद्यालयहरुमा राष्ट्रिय परीक्षा वोर्डको निर्देशिका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट बच्ने स्वास्थ्य सुरक्षा मापदण्ड पुर्णरुपमा अपनाएर परीक्षा सुरु गरिएको बताउनुभयो । उहाँले एउटा कोठामा बढीमा २० जनासम्म परीक्षार्थी राख्नुपर्ने , एउटा बेन्चमा एकजनामात्रै परीक्षार्थी राख्नुपर्ने, परीक्षार्थीहरुलाई साबुन पानीले अनिवार्य हात धुने व्यवस्पान गर्नुपर्ने र मास्क अनिवार्य प्रयोग जस्ता राष्ट्रिय परीक्षा वोर्डको निर्देशिका कार्यान्वय भए र नभएको नगरपालिकाले अनुगमन गरिरहेको बताउनुभयो । अहिले सातवटा माध्यामिक विद्यालयको होम सेन्टरमा करिव चारसयको हाराहारीमा विद्यार्थीहरुले परीक्षा दिइरहेका छन् , उनीहरुको सुरक्षाका लागि सकेको गरेका छौँ नगरप्रमुख बस्नेतले भन्नुभयो ।
मन्थली नगरपालिकामा कक्षा ११ को परीक्षा सुरु
- प्रकाशित मिति: बुधबार, कार्तिक १९ २०७७
- तामाकोशी