रामेछाप । कार्तिक १९ गते,
रामेछापको उमाकुण्ड गाउँपालिका स्थित लाप्चाने इलाका प्रशासन कार्यालय फेरी संचालनमा आएको छ । अधिकृत स्तरको कर्मचारी अभावमा बन्द रहेको इलाका प्रशासन कार्यालय सरकारले आवश्यक कर्मचारी पठाएपछि तीनवर्ष बन्द भएर पुन संचालनमा आएको हो । कार्यालय संचालनमा आएपछि उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाकाका नागरिकले सेवा लिन थालेका छन् ।
कार्यालय बन्द भएको लामो समयपछि पुन सेवा लिन पाउँदा स्थानीयहरु खुसी भएका छन । गोकुलगंगा गाउँपालिका वडा नं २ ठोसेका वडाध्यक्ष शेखरमान श्रेष्ठले इलाका प्रशासन कार्यालय पुन संचालन भएपछि झण्डै चार सय नागरिकहरुले नेपाली नगरिताको प्रमाणपत्र लिइसकेको बताउनुभयो । कार्यालयबाट सेवा संचालन भएपछि उमाकुण्ड गाउँपालिकाको वडा नं ३ मा ९९ ,वडा नं ४ मा ५७ ,वडा नं ५ मा ४० , गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा ९१ र वडा नं २ ठोसेमा एकसय एकजना भन्दा बढी नागरिकहरुले नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् वडाध्यक्ष श्रेष्ठले भन्नुभयो । अधिकृत स्तरका कर्मचारी अभावमा बन्द रहेको कार्यालय अहिले संचालनमा आएको रामेछापकी प्रमुख जिल्लाअधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । नेपाल सरकारले आवश्यक कर्मचारी पठाएपछि कार्यालयबाट फेरी सेवा संचालन भएको छ , अब कार्यालयबाट प्रवाहा हुने सेवाको थप प्रभावकारीतामा जोड दिन्छौँ प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो । इलाका प्रशासन कार्यालयले मुद्धा, शान्ति,सुरक्षा, संघ संस्था, हातहतियार, बजार अनुगमनबाहेक अन्य कामसमेत सम्पादन गर्दै आएको छ । नागरिकता प्रमाणपत्र, राहदानी शिफारिस र जनजाति प्रमाणितको काम स्थानीय स्तरमा नै गर्नका लागि सरकारले इलाका प्रशासन कार्यालयको व्यवस्था गरेको थियो । सोहि अनुसार कार्यालयले कार्य सम्पादन गर्दै आएको थियो । अधिकृतसहित पाँचजना कर्मचारीको दरबन्दी भएपनि एक जना पनि कर्मचारी नभएपछि बन्दभएको कार्यालय गत कार्तिक २७ गेतबाट फेरी संचालनमा आएको हो ।