रामेछापमा थप एक जनामा कोरोना संक्रमण , ७६ जनाको रिपोर्ट आउन बाँकि

  • प्रकाशित मिति: आइतबार, कार्तिक २ २०७७
  • तामाकोशी

रामेछाप । कार्तिक २ गते,
रामेछापका थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले असोज २८ गते स्वाब पठाइएका दोरम्बा गाउँपालिकाका ४७ जना मध्ये दोरम्बा गाउँपालिका वडा नं १ का ४१ वर्षका पुरुषमा कोरोना संक्रमण भएको बताउनुभयो । यो संगै जिल्लामै स्वाब संकलन गरिएका १४२ जनामा कोरोना संक्रमण भएको छ । यसमध्ये ७९ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिले जिल्ला अस्पतालमा १६ जना , तामाकोसी अस्पतालमा दुईजना , मन्थली नगरपालिकामा २८ जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा तीनजना , रामेछाप नगरपालिकामा ८ जना , उमाकुण्ड गाउँपालिकामा दुईजना ,दोरम्बा गाउँपालिकामा दुईजना , खाँडादेवी गाउँपालिकामा एकजना र सुनापति गाउँपालिकामा एकजना गरि ६३ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ । हालसम्म जिल्ला अस्पतालमा १९८ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ६४०, रामेछाप नगरपालिकामा २७६ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा १४५, गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ११६, लिखुतामाकोशी गाउँपालिकामा १५३ र सुनापति गाउँपालिकामा १०७ जना गरि दुईहजार १४७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये ७६ जनाको रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले १८ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ४२ जना र १०२ पुरुष गरि १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।