खाँडादेवी मन्दिरमा नियमित रुपमा पूजा संचालन

  • प्रकाशित मिति: आइतबार, कार्तिक २ २०७७
  • तामाकोशी

रामेछाप । कार्तिक २ गते,
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँसुरु भएको छ । कोरोना माहामारीमा पनि रामेछापको प्रमुख शक्तिपिठ खाँडादेवी मन्दिरमा विशेषसहित अन्य पूजा अर्चना तथा नियमित वली पूजा नरोकिने भएको छ । सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पुर्ण रुपमा पालना गरि मन्दिरमा हुने सबै पूजा संचालन गर्ने खाँडादेवी मन्दिर विकास कोषले जनाएको छ । मन्दिर विकास कोषका अध्यक्ष शेर बहादुर तामाङले स्थानीय प्रशासनको निर्देशनलाई मध्येनजर गरि सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्ड पुर्ण रुपमा पालना गरि पूजा संचालन गरिने बताउनुभयो । खाँडादेवी मन्दिरमा गरिदै आएको कुनै पनि पूजा रोकिदैन , सरकारको निर्देशनलाई ध्यानमा राखेर भक्तजनहरुको माग अनुसार भौतिक दुरी कायम गराई मास्क अनिवार्य गरेर परम्परादेखीनै गरिदै आएको सबै पूजा संचालन गरिन्छ उहाँले भन्नुभयो । मन्दिरका पूजारी समेत रहनु भएका तामाङले इलाका प्रहरी कार्यालय चोप्राङलाई पनि आवश्यक सावधानी र सुरक्षाका उपाय अपनाएर पूजा अर्चना संचालन गर्ने जानकारी गराइएकाले नियमित रुपमा हुने पूजा नरोकिने बताउनुभयो । खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेम बहादुर तामाङले भने मठ मन्दिरहरुमा नियमित पूजा अर्चना बाहेक भिडभाड हुन नदिने बताउनुभयो । अध्यक्ष तामाङले मठ मन्दिरमा पूजा अर्चना गर्दा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पुर्णरुपमा अपनायर गर्नुपर्ने बताउनुभयो । काठमाडौंबाट करिव एकसय किलोमिटरको दुरीमा रहेको खाडादेवी मन्दिर जिल्लाकै प्रमुख शक्तिपिठ हो । यो मन्दिरमा पञ्चवलीका साथै राँगा, बोका, पाठी, कुखुरा र परेवाको पशुवली चढाउनका लागि भक्तजनहरु आउँछन् ।खाँडादेवी महारानीको नामले पुकारीने यस देवी मन्दिरमा नौरथा भरि विशेष मेला समेत लाग्ने गरेको छ ।