सिन्धुलीका आठ पालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द

  • प्रकाशित मिति: आइतबार, कार्तिक २ २०७७
  • तामाकोशी

सिन्धुली । कार्तिक २ गते,
सिन्धुलीका आठ वटा पालिकाले अत्यावश्यक बाहेक सबै सेवा प्रबाह बन्द गरेका छन् । फिक्कल गाँउपालिका र घ्याङलेख गाँउपालिकाले शुक्रबारदेखि कात्तिक ६ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेबा बन्द गरेपछि उक्त सेवा बन्द गर्ने पालिकाको संख्या आठ पुगेको हो । पालिकाका पधादिकारी र कर्मचारीमा कोरोना भाईरस संक्रमण देखिएपछि अत्यावश्यक बाहेक सबै सेवा प्रबाह बन्द गरेको स्थानीय तहले जनाएका छन् ।जिल्लाको सुनकोसी गाँउपालिका बाहेक कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाँउपालिका, फिक्कल गाँउपालिका, गोलन्जोर गाँउपालिका, घ्याङलेख गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका र मरिण गाँउपालिकाले उक्त सेवा बन्द गरेका हुन् । सुनकोसी गाँउपालिकाका अध्यक्ष दिपा बोहोराले जनप्रतिनिधि र कर्मचारीमा अहिले कोरोना सं क्रमण नदेखिएको र सामाजिक सुरक्षाभत्ता बितरण गर्नु पर्ने भएकोले गाँउपालिकाले दिने सेवा प्रवाह बन्द नगरेको बताउनुभयो । फिक्कल गाँउपालिकाले पदाधिकारी र कर्मचारीमा कोरोना भाईरस संक्रमण देखिएपछि कात्तिक ६ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । त्यस्तै घ्याङलेख गाँउपालिकाले भने अर्को व्यवस्था नभएसम्मका लागि भन्दै सूचना टाँसेर सेवा प्रबाह बन्द गरेको जनाएको छ । तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले गाँउपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना भाईरस सङक्रमण पुष्टि भएपछि कार्यपालिका बैठकबाट निर्णय गराई असोज २९ गतेदेखि कात्तिक ६ गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको जानकारी दिनुभयो । यसअघि कर्मचारीमा कोरोना भाईरस संक्रमण पुटि भएपछि सिन्धुलीका दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाँउपालिका र गोलन्जोर गाँउपालिकाले पनि अत्यावश्यक बाहेक सबै सेवा बन्द गरेको जनाएका छन् ।