रामेछापमा राष्ट्रिय बाणिज्य बैङ्कका तीनजना कर्मचारी सहित थप चार जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति: बिहिबार, असोज २९ २०७७
  • तामाकोशी

रामेछाप । असोज २९ गते,
रामेछापमा राष्ट्रिय बाणिज्य बैङ्क मन्थलीमा कार्यरत तीनजना कर्मचारी सहित थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले असोज २३ गते मन्थली नगरपालिकाबाट स्वाब संकलन गरिएका ४३ जनामध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार विहीबार राष्ट्रिय बाणिज्य बैङ्क मन्थलीमा कार्यरत २२,४६ वर्षका पुरुष र २३ वर्षकी महिला कर्मचारी र मन्थली बचतमा कार्यरत ३० वर्षकी महिला कर्मचारीमा कोरोना संक्रमण भएको छ । यो संगै जिल्लामै स्वाब संकलन गरिएका संक्रमित हुनेको संख्या १ सय ४१ जना पुगेको छ । यसमध्ये ७२ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाका अनुसार अहिले जिल्ला अस्पतालमा १७ जना , तामाकोसी अस्पतालमा दुईजना , मन्थली नगरपालिकामा ३० जना , मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा दुईजना , रामेछाप नगरपालिकामा ९ जना , उमाकुण्ड गाउँपालिकामा दुईजना ,दोरम्बा गाउँपालिकामा एकजना , गोकुलगंगा गाउँपालिकामा चारजना , खाँडादेवी गाउँपालिकामा एकजना र सुनापति गाउँपालिकामा एकजना गरि ६९ जना संक्रमितको आइसोलेशनमा उपचार भैरहेको छ ।
हालसम्म जिल्ला अस्पतालमा १९८ , रामेछाप सामुदायिक अस्पतालमा ६१ जना , मन्थली नगरपालिकामा ६४०, रामेछाप नगरपालिकामा २६८ , उमाकुण्ड गाउँपालिकामा १९८, खाँडादेवी गाउँपालिकामा ९३, गोकुलगंगा गाउँपालिकामा २५३ , दोरम्बा गाउँपालिकामा ११६, लिखुतामाकोशी गाउँपालिकामा १५३ र सुनापति गाउँपालिकामा ९१ जना गरि दुईहजार ७१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । यसमध्ये बुधबार स्वाब संकलन गरिएका दोरम्बा गाउँपालिकाका ४७ जनाक् को रिपोर्ट आउन बाँकि छ । स्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाहरुमा अहिले दुईजना महिला र २३ जना पुरुष गरि २५ जना क्वारेन्टिनमा रहेका छन् । विहीबार गोकुलगंगा गाउँपालिकाका तीनजना र लिखुतामाकोसी गाउँपालिकाका पाँचजना गरि आठ जनाक् क्वारेन्टीनबाट फिर्ता भएका छन् । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म १०८ बेडको आइसोलेशन कक्ष र ४९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत थापाका अनुसार हालसम्म रामेछाप स्थायी घर भै काठमाडौं लगायत विभिन्न स्थानमा बसोबास गर्ने महिला ३८ जना र ९१ जना पुरुष गरि १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।